गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए।
‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुन सक्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो।’
गाउँपालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन्। उनीहरू सबैले आउँदो २०८१ जेठ १ गतेदेखि बिमाबापतको स्वास्थ्य उपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताए।
गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बिमाबापत लाभग्राहीले वार्षिक रु. एक लाखसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन्। ‘यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घरोगीको तथ्यांक संकलन गरेर कार्यक्रम सञ्चालन गरेको हो।’
बिमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँचजना सदस्यको पनि निःशुल्क स्वास्थ्य बिमा गरिएको गाउँपालिकाले जनाएको छ।