मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
२o८१ चैत १६ शनिबार o६:२o:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दलितको घरमा डोजर प्रकरण : औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o६:२o:oo

सिराहामा महायज्ञका नाममा दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटीमा रिहा भएका छन् । सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको शुक्रबारको इजालसले जनही एक लाख धरौटी माग गरेपछि उनीहरू धरौटी रकम बुझाएर रिहा भएका हुन् । 

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा शुक्रबार मुद्दा दर्ता भएकामा थुनछुक बहस भएको हो । १९ वैशाखमा अदालतमा हाजिर हुन पनि आदेश दिइएको छ । महायज्ञका लागि मण्डप बनाउने भन्दै डोजर लगाएर औरहीका दीपक मल्लिक (डोम)को घर गत १० फागुनमा भत्काइएको थियो । महायज्ञ आयोजक समिति अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव ८ चैतमा पक्राउ परेका थिए । दीपकको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन् । 

पीडित दीपकले ९ चैतमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा तीनैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मुद्दा प्रक्रिया अगाडि बढेको थियो । १७ चैतदेखि औरही– ५ मा १० दिनसम्म गर्ने भनिएको विष्णु महायज्ञस्थलको पूर्व–दक्षिण कुनामा घर रहेको डोम परिवारलाई पालिकाकै जेसिबी प्रयोग गरी १० फागुनमा उठीबास गराइएको घटना मिडियामार्फत उजागर भएको थियो ।

त्यसपछि गाउँपालिकाको संयन्त्र नै लागेर पीडितको घर भत्काएको भोलिपल्ट ११ फागुनको मिति राखेर फर्जी मञ्जुरीनामा बनाई ६ चैतमा पीडितलाई ‘जग्गाको प्रमाण हो’ भन्दै झुक्याएर सही गराइएको खुलिसकेको छ ।