
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देश गरेका छन् । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
बैठकले महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पार्टीमा पेस गर्न निर्देशन दिने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए। राष्ट्रिय भेलामा घोषणा गरेको 'जनताको कुरा सुन्ने यात्रा, जनयात्रा'को शुभारम्भ यही २०८१ चैत्र २३ गते चितवनबाट गर्ने तयसमेत गरिएको उनले बताए।
रास्वपाले पार्टीको तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको छ। त्यस्तै, लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साढे ५ महिनापछि आज केन्द्रीय बैठकमा सहभागी भई पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएका हुन्। उक्त बैठकमा पार्टी सभापति लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति सुनाउँदै पार्टी जीवनको संघर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गर्नु भएको सहयोगप्रति आभार व्यक्त गरे। त्यसैगरी, आजको दिनमा राज्य सत्ताद्वारा लादिएको पीडा र सबै संघर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको उल्लेख गर्दै नक्खुमा बाढीपहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र शुक्रबार तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल आफूहरूमाथि प्रहारमा प्रयोग गरिरहेकोप्रति सचेत गराए। र। यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेकोले अब पार्टीको संरचनामा काम गर्न पार्टी सदस्यहरूलाई आह्वान गरे।
बैठकमा उनले भने,‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ। गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्थाअन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौँ।’
अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन, राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भएको उनले बताए, 'मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु,' बैठकमा सभापति लामिछानेले भने।
सोमबारको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयन गरेको छ।
बैठकमा प्रतिद्वन्द्वी दलहरूले रास्वपाविरुद्ध निषेधको राजनीति गरेको दोहोर्याउँदै ८४ लाई जनहितका पक्षमा निर्णायक अवसर बनाउन प्रेरित गर्दै एकदमै ऊर्जाका साथ काम गरी मुस्किल समयमा एकढिक्का भएर अगाडि बढ्न अनिवार्य रहेकोमा जोड दिइएको कार्यबाहक प्रवक्ता झाले बताए।