
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छोरा ज्योति भट्टलाई निजी सचिवालयमार्फत सहसचिवसरहको सुविधा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको धनगढीस्थित कार्यालयमा कार्यकारी निर्देशक पदमा कार्यरत छन् । भट्टले हाजिरीविना प्रदेश प्रमुखको सचिवालयको प्रमुख स्वकीयसचिव भएबापत पाउने सहसचिवको सेवासुविधा लिइरहेका छन् ।
०८० फागुनमा गण्डकी प्रदेश प्रमुख नियुक्त भट्टले १ चैत ०८० मा कार्यभार सम्हालेका थिए । सोही दिन उनले छोरा ज्योतिलाई प्रमुख स्वकीयसचिव नियुक्त गरेका थिए । त्यसअघिदेखि नै उनी धनगढीमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । दुई स्थानमा काम गरेको, दुई स्थानबाट सेवा–सुविधा लिएको, धनगढी बसेर हाजिरी नगरी प्रदेश प्रमुखको कार्यालयबाट सेवा–सुविधा लिएको भन्दै ज्योति भट्टविरुद्ध गत फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी परेको थियो । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि उनले १ चैतदेखि लागू हुने गरी प्रदेश प्रमुखको स्वकीयसचिवबाट राजीनामा दिएका थिए । धनगढीमा बस्ने उनको हाजिर भने प्रदेश प्रमुखको निजी सचिवालयले काम गरेको दिनको हाजिर प्रमाणित गरी पठाएको पत्रका आधारमा प्रमुखको कार्यालयले उनले पाउने सेवा–सुविधा दिँदै आएको थियो । ज्योतिले एक वर्षको सेवा–सुविधा निजी सचिवालयले हाजिर प्रमाणित गरी पठाएको पत्रका आधारमा लिएको पाइएको छ ।
ज्योति कहिलेकाहीँ दुई–तीन दिन बिदा लिएर पोखरा आउने गरेका थिए । धनगढीमा कार्यकारी निर्देशकको सेवा–सुविधा भने उनले हाजिर गरेरै लिने गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले निजी सचिवालयमा काम गर्नेहरूका लागि नियुक्त भएपछि हाजिर गर्न भन्दै हाजिरकपी पठाएकोमा पर्दैन भनी फर्काएको जानकारी दिए । उजुरीमा ज्योतिसँगै उपस्वकीय सचिव कुमार तामाङले कार्यालयबाट विनाहाजिर तलबभत्ता लिएको उल्लेख छ । साथै, प्रदेश प्रमुखको ललितपुरमा भैँसेपाटी रहेको निजीनिवासमा ज्योतिले १० महिनादेखि विभिन्न व्यक्तिलाई बस्न दिएर घरभाडा उठाएको आरोपसमेत लगाइएको छ । उजुरीपछि आयोगको पोखरा कार्यालयले ३ चैतमा प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाउँदै राय प्रतिक्रियासहित प्रमाणित कागजात उपलब्ध गराउन भनेको छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेश प्रमुखको कार्यालय र निवास फरक–फरक स्थानमा रहेको बताउँदै निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको विशेष नियुक्ति रहेको उल्लेख गरे । ‘केही कर्मचारीहरूले हाजिर गर्ने गरे पनि केहीलाई सचिवालयबाट हाजिर प्रमाणित गरी आएको पत्रका आधारमा उनीहरूले पाउने सेवा–सुविधा निकासा गरिएको छ । ज्योतिसँगै उपस्वकीयसचिव तामाङको हाजिर प्रमाणित गरेर आउने पत्रका आधारमा सेवा–सुविधा दिने गरिएको छ, तर दैनिक हाजिर भने गर्ने गरिएको छैन,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका उपाध्यक्ष अनिलकुमार भुजनियाले ज्योति भट्ट महासंघ प्रदेश संरचनामा जानुअघिदेखि कार्यरत रहेको बताए । ‘भट्टले पोखरामा प्रदेश प्रमुखको सचिवालयमा समेत जागिर खान्छन् भन्ने हामीलाई थाहा थिएन । दोहोरो सुविधा सरकारी होस् वा निजी क्षेत्र कतैबाट कसैले पनि लिन पाइँदैन र लिन पनि हुन्न, यदि भट्टले लिएको भए यो गलत हो,’ उनले भने ।
कानुनले जे भन्छ भोग्न तयार छु : ज्योति भट्ट
बुबा ७८ वर्षको हुनुभयो, उहाँलाई सहयोग गर्न भनेर बसेको हो । निजी क्षेत्रमा काम गरे पनि सरकारी सेवा–सुविधा लिन मिल्छ होला भनी लिएको हो, पैसाको लोभमा होइन । मैले राज्यको दोहोरो सुविधा लिएको पनि होइन । सचिवालयमा हाजिर गर्ने चलन रैनछ, कुनै कार्यविधि पनि बनेको रहेनछ । म स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर नगरेको हो । भैँसेपाटीको निवासको विषयमा परेको उजुरी भने गलत हो । उजुरी परेपछि मलाई पनि पत्र आएको छ, मैले गलत नियतले पैसा पाउन गरेको हैन, कानुनी प्रक्रियामा गइसक्यो, अब कानुनले जे भन्छ त्यही गरौँला ।