मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Wednesday, 26 March, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत १२ मंगलबार o८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

घर लिलाम भएपछि थापा परिवारको उठीवास, समन्वय गर्दै वडा कार्यालय 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार o८:४४:oo

बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थापागाउँका उद्धव थापाको घर लिलाम भएर उठीवासको अवस्था निम्तिएपछि नगरपालिका र स्थानीयवासीले मेलमिलापको बाटो खोजेका छन् । बुढानीलकण्ठ नगरपालिका–४ का वडाध्यक्ष श्रीराम केसीले स्थानीयको बिल्लीबाठ हुने अवस्था आएको भन्दै पीडितलाई राहत हुने गरी छलफल र समन्वय अघि बढाएका हुन् । 

जिल्ला अदालत काठमाडौंले ०८० साउनमै एनआइसी एसिया बैंकको पक्षमा फैसला गरेपछि प्रहरी फैसला कार्यान्वयनमा लागेको छ । तर, बिचौलियाले थापा परिवारलाई फसाएको भन्दै नगरपालिका र स्थानीयवासीले तत्काल फैसला कार्यान्वयन नगर्न अनुरोध गर्दै आइरहेका छन् । वडाध्यक्ष केसीले थापाको परिवार उठीवासको अवस्थामा आएकाले राहत हुने गरी वडाले सहजीकरण थालेको बताए । ‘उहाँ सोझो व्यक्ति हो, कसैले घर धितो राख्न उहाँलाई प्रलोभनमा पा¥यो, त्यसपछि उहाँको १२ आनामा बनेको घर नै लिलामी भयो, त्यो घरमा उहाँहरूको आठजनाको परिवार बस्नुहुन्छ,’ उनले भने, ‘हामी अदालतलाई मान्छौँ, तर यहाँ वासको कुरा पनि छ, कोही सडकमा आउने अवस्था नहोस् भनेर हामीले समन्वय थालेका हौँ ।’ 

लिलाममा परेको घर एनआइसी एसिया बैंकले मोहनबहादुर बस्नेतलाई बेचेको थियो । बैंकसँग घर किनेका बस्नेत घर खाली गराउन भन्दै चार–पाँचपटक प्रहरीसहित थापाको घरमा पुगेका छन् । तर, वडा कार्यालयले दुवै पक्षलाई सहज हुने गरी अघि बढ्न बस्नेतलाई आग्रह गर्दै आइरहेको छ । सोमबार प्रहरी प्रशासन फैसला कार्यान्वयनका लागि घर खाली गराउन पुगेको थियो । तर, बुढानीलकण्ठ नगरपालिका, वडा र स्थानीय जनप्रतिनिधिहरूले सीधै घर खाली गराउन नहुने र यसमा मिलेर अघि बढ्नुपर्ने बताएपछि प्रहरी फर्किएको थियो ।

सोमबार साँझ नगरपालिका प्रमुख मीठाराम अधिकारी, वडाध्यक्ष केसी, प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर सुरेश खत्री, पूर्ववडाध्यक्षलगायतको बैठकले पीडितलाई राहत हुने गरी अघि बढ्ने निर्णयसमेत गरेको छ । परिवार नै उठीवास हुने अवस्था आएकाले थापाका दाइ विश्वबहादुरले नजिकै रहेको तीन आना जग्गा दिनेसमेत बचन दिएका छन् । ‘सोमबार हामीले एक किसिमको वार्ता गरेका छौँ, यसबारेमा मेयरसापले दुवै पक्षलाई मंगलबार थप छलफलमा बोलाउनुभएको छ,’ वडाध्यक्ष केसीले भने, ‘लिलाममा गएको घरजग्गा कार्यान्वयन गराउन स्थानीय तहहरूले पनि समन्वयको भूमिका निभाउन सक्छन् भनेर सहजीकरण गर्न लागेका हौँ । स्थानीयको गाँसवासको अवस्था पनि हामीले ख्याल गर्नुपर्छ ।’ उनका अनुसार बैंकसँग घर किनेका बस्नेतको कुनै दोष नभए पनि बैठकमा उनलाईसमेत राखेर समन्वय गर्न आग्रह गरिएको छ । ‘प्रहरी प्रशासनले पनि स्थानीयसँग सहजीकरण गरेको छ,’ वडाध्यक्ष केसीले थपे, ‘दुवै पक्षसँग मिलेर अघि बढ्नुपर्छ भन्नेमा छलफल भएको छ ।’

बैंकले थापाको घर लिलाम गर्ने वेलामा कैफियत राखेको स्थानीयको भनाइ छ । सो क्षेत्रमा जग्गा हाल आनाको ४०–५० लाख रुपैयाँमा कारोबार भइरहेको छ । तर १२ आनामा फैलिएको घरको आर्थिक मूल्यांकन जम्मा एक करोड ५८ लाख रुपैयाँ गरेको छ । त्यसमध्ये ९० लाख ऋण र अन्य रकम ब्याजका रूपमा बैंकले जोडेर घर लिलामीको प्रक्रिया अघि बढाएको थियो । थापाका छिमेकी बिचौलियाले सोझोपनको फाइदा लिएको बताउँछन् । ‘इमानदार र सोझो व्यक्ति भएकाले उहाँको सोझोपनको फाइदा लिए,’ स्थानीय गणेश न्यौपानेले भने, ‘लिलामै गर्ने भए पनि बैंकले अहिलेको यहाँको जग्गाको दरभाउ र अवस्था बुझेर गर्नुपर्दथ्यो, यो अलि न्यायसंगत भएन ।’ घरधितो राख्न लगाएर ऋणको पासोमा पार्ने काम स्थानीय कृष्णबहादुर शाहीले गरेको थापा परिवारको आरोप छ ।