
समाजवादी मोर्चाले सडकमा हिंसा, आतंक र मन्डले अराजकता मच्चाएर इतिहास फर्काउने दुस्साहस नगर्न राजावादीलाई चेतावनी दिएको छ । लोकतान्त्रिक गणतन्त्रका पक्षमा र सरकारको कुशासनविरुद्ध शुक्रबार काठमाडौंमा विशाल जनप्रदर्शन र सभा गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो ।
मोर्चामा आबद्ध माओवादी, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूले आन्दोलनका नाममा राजावादी समूहले गुन्डागर्दीसहित हत्या, कुटपिट, लुटपाट र अराजकता मच्चाएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।
त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्कसहित काठमाडौंका एक दर्जन स्थानबाट सुरु भएको हजारौँ सहभागी मोर्चाको जुलुस प्रदर्शनीमार्गमा पुगेपछि सभामा परिणत भएको थियो । गणतन्त्रका पक्षमा जनसभा आयोजना गर्ने आफूहरूको घोषणापछि राजावादीहरूले नियोजित रूपमै त्यही दिन प्रदर्शन गरेर देशलाई प्रतिगमनमा लैजान मुठडेको बाटो रोजेकोप्रति आपत्ति जनाउँदै मोर्चाका नेताहरूले कडा मूल्य चुकाउनुपर्ने दिन आउन सक्ने चेतावनी पनि दिए ।
‘चैत १५ गते नेपालको राजनीतिक आन्दोलनको इतिहासमा एउटा महत्वपूर्ण दिनका रूपमा अंकित भइसकेको छ । एकातिर गणतन्त्रवादीको विरोध प्रदर्शन र सभा, अर्कोतिर राजावादीको प्रतिगामी सभा एकैदिन पारियो । गणतन्त्रवादी मोर्चाको हैसियतमा हामीले १५ गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने घोषणा गरिसकेपछि राजावादीले पनि आजकै दिन प्रदर्शनका लािग रोजे । त्यसबाट कहीँ न कहीँ वातावरणलाई धमिल्याउन चाहने, उत्तेजित बनाउने, आतंकित पार्न चाहने मनासय त उनीहरूमा देखिएकै थियो,’ सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘तर, १२ वर्ष ढुंग्रोमा हाले पनि कुकुरको पुच्छर बांगै भनेजस्तै त्यहाँको सभा त मन्डले अराजकताको परकाष्ठा भएको छ । तीनकुने क्षेत्र मन्डले अराजकताको सबै प्रतिगामी निरंकुशतावादीको प्रतीकका रूपमा देखियो । मण्डलेहरूले घरमा आगो लगाएका छन्, प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । एक–दुईजना मान्छे मरून् र देशभरि आतंक फैलियोस् भन्ने उनीहरूले चाहेका छन् । त्यो राजावादीहरूको चरित्र नै हो ।’
इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न प्रचण्डले चेतावनी दिए । मधेशी, आदिवासी जनजाति, मजदुर युद्धबाट खारिएर आएका कारण अब गणतन्त्रबाट कुनै पनि हालतमा पछाडि नफर्किने दाबी गर्दै उनले इतिहास कहिले नफर्कने बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अब अर्को गल्ती गरे क्षमा पनि दिन नसकिने प्रचण्डको चेतावनी छ । ‘विगतमा जनताको हितमा काम नगरेका कारण हामी गणतन्त्रवादीले मिल्काइसकेका तत्वहरूले शिर उठाउन खोजेका हुन सक्छन्, तर केही कमजोरीको फाइदा उठाउन खोजे अब प्रतिगामीलाई क्षमा दिन सकिन्न,’ उनले भने । कमजोरी सच्याएर गणतन्त्रलाई पूर्ण रूप दिनका लागि नयाँ आन्दोलन गर्न चाहेको बताउँदै प्रचण्डले समीक्षात्मक ढंगले अगाडि बढ्ने तयारी भइरहेको जानकारी गराए ।
प्रधानमन्त्री केपी ओली नर्कतिर गएको बताउँदै अध्यक्ष प्रचण्डले आफूलाई जनतातिर फर्काइदिएको भन्दै धन्यवाद पनि दिए । जनतामा देखिएको आक्रोशको समीक्षा गर्नु आवश्यक रहेको बताउँदै उनले संविधान निर्माणको सहयोगी भएका कारण अहिलेसम्म खबरदारी मात्रै गरेको बताए । ‘संविधान निर्माणको सहयात्री भएकाले सहयोग गर्दै आएको हो, यदि अहिले पनि सुध्रिनुभएन भने क्रान्तिबाट तपाईंहरूलाई पनि बढारेर जाने र क्रान्ति तपाईंहरूतिर सोझ्याउन नपरोस्,’ प्रचण्डले सरकारलाई खबरदारी गरे ।
प्रधानमन्त्री ओलीले अहिले पनि उल्टो काम गरिरहेको दाबी गर्दै प्रचण्डले अहंकार त्याग्न ध्यानाकर्षण गराए । ‘प्रधानमन्त्री ओलीमा अहंकार छ, उहाँ जवाफ दिनै चाहनुहुन्न, आउनुहुन्न भन्ने मलाई थाहा छ,’ प्रचण्डले भने । संविधान संशोधन कसैको अधिकार खोस्न नभएर अधिकार दिनका लागि हुनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले संविधानमा देखिएको कमीकमजोरी सच्याउनुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी, पूर्वराजावादीहरूले चाहँदैमा मुलुक वंशीय शासनमा फर्किन नसक्ने दाबी गर्दै गणतन्त्रको पक्षमा शुक्रबारको प्रदर्शन कास्टिङ मात्रै भएको बताए । ‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङ मात्र हो । त्यसकारण प्रतिगामी शक्तिहरू होसियार ! अब यो मुलुक राणा र शाही वंशतर्फ फर्कन सक्दैन । वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौम सत्तासम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार छैनन्,’ उनले भने, ‘वंशको शासन ल्याउन खोजे त्यसले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’ सरकार जनताको समस्यासँग बेखबर भएर कुर्ची बचाउन मात्र लाग्दा आजको स्थिति आएको उनको भनाइ छ ।
‘हामीले सरकार ढालेका छैनौँ, तर सरकार ढलेँ.. ढलेँ...गीत गाइरहेको छ, किन त्यस्तो गीत गाउनु ?’ अध्यक्ष नेपालले भने, ‘प्रचण्ड कमरेडलाई स्वर्ग र नर्कको कुरा गरेछन् । प्रचण्ड सोझो मान्छेलाई नर्कतिर पठाइदिएछन् ।’ सरकारको कार्यशैली सुध्रियोस् भन्ने सदिच्छा रहे पनि त्यस्तो अवस्था नदेखिएको उनले बताए । ‘हामीले भनिरहेका छौँ, मति सप्रियोस्, बुद्धि फेरियोस्, देश र जनतालाई केन्द्रविन्दुमा राखियोस्, षड्यन्त्रको काम नगरियोस्, तर त्यस्तो स्थिति देखिएको छैन,’ नेपालले भने ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतासँगको लडाइँमा शासन गुमाएकाहरूले विदेशी तत्वहरूको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेको बताए । उनले पुरानै युग फर्काउने सपना नदेख्न चेतावनीसमेत दिए ।
‘ठुलो लडाइँ लडेर यहाँसम्म आइपुगेका छौँ । लडाइँमा जसले सत्ता गुमाए, हारे, जसको स्वर्ग ढाल्यो, जसले स्वर्गीय आनन्द भंग भएको महसुस ग¥यो, तिनै बचेखुचेका सामन्ती तत्वहरूले विदेशीहरूको उक्साहटमा गणतन्त्रका विरुद्धमा षड्यन्त्र गरिरहेका छन्,’ विप्लवले भने, ‘तर, त्यस्तो षड्यन्त्र सफल हुन दिनेछैनौँ । जनताले फेरि तह लगाउनेछन् ।’ उनले अहिले जनताका समस्या सम्बोधन हुन नसके गणतन्त्रको विकल्प अर्को कुनै पनि व्यवस्था हुन नसक्ने बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पूर्वराजाले संविधान च्यात्न खोजेकाले जनतालाई सडकमा खबरदारीका लागि उतार्न बाध्य भएको बताए । ‘जुन प्रकारले अहिले देशमा विषम परिस्थिति निर्माण भएको छ । राजालाई संविधानमा नागरिकका रूपमा राखिएको छ । राज्यले सुविधा दिएको छ । हामी चाहन्छौँ, राजा संविधानको परिधिभित्र बसून्, नागरिक भएर चुनाव लडेर अगाडि बढून् । योबिचमा प्रतिगामी शक्तिहरू, पुनरुत्थान शक्तिले जुन प्रकारले संविधानमाथि नै हमला गरिरहेका छन्, संविधानलाई च्यात्ने जुन दुष्प्रयास गरिरहेको छ, समाजवादी मोर्चा त्यसमा खबरदारी गर्छ,’ उनले भने ।
माओवादीकी उपाध्यक्ष पम्फा भुसालले सरकारको कमजोरीका कारण आमजनतामा आक्रोश पैदा भएको बताइन् । उनले जनतामा निराशा फैलिएकै वेला निरंकुशतावादीहरूले टाउको उठाउन खोजे पनि जनतालाई सैह्य नहुने चेतावनी दिइन् ।