मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Saturday, 22 March, 2025
२o८१ चैत ८ शुक्रबार o७:४३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा–बुटवल सडकखण्ड स्तरोन्नति गर्न पौने २० अर्ब लाग्ने

सडकमा १० अर्ब ३८ करोड ७० लाख र भायाडक्ट, सुरुङमा नौ अर्ब ३७ करोड खर्च हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार o७:४३:oo

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–बुटवल सडकखण्डको एक सय ८२ किलोमिटरमध्ये १५७.९५ किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । पोखराको पृथ्वीचोकबाट स्याङ्जा, पाल्पा हुँदै बुटवलको गोलपार्कमा पुगेर यो खण्ड टुंगिनेछ । वन तथा वातावरण मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै वातावरणीय संरक्षण नियमावली २०७७ को नियम ९ को उपदफा (६) बमोजिम प्रतिवेदनमा राय–सुझाव माग गरेको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो राय–सुझाव पठाउन सर्वसाधारण व्यक्ति, संस्थाहरूलाई आह्वान गरिएको छ ।

गण्डकी प्रदेशको कास्की र स्याङ्जासँगै लुम्बिनी प्रदेशको पाल्पा र रुपन्देही जिल्ला  जोड्ने सडक हाल साढे पाँच मिटरदेखि ६ मिटर चौडाइ रहेको छ । आयोजनाअन्तर्गत सो सडकलाई कम्तीमा सात मिटर क्यारिजवे विथ, सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर विथ, एक मिटरको नालासहित बाह्रै महिना सञ्चालन हुने दुई लेनमा स्तरोन्नति गरिने भएको हो । साथै सडकमा पर्ने पुलहरूलाई समेत आवश्यकताका आधारमा मर्मत–सम्भार गरिनेछ ।

आयोजनाअन्तर्गत सडकमा पाइप कल्र्भट तीन सय २५, आर्क कल्भर्ट १६, स्याब कल्भर्ट चार सय ३३ र पुल ३३ वटा रहनेछन् । सडक निर्माणका लागि ढुंगा, गिट्टी ३६ लाख ६२ हजार दुई सय १३ घनमिटर चाहिन्छ भने २७ लाख १९ हजार तीन सय ३३ घनमिटर माटो कटानसँगै दुई लाख ७८ हजार नौ सय ४२ घनमिटर माटो भरण गरिनेछ । आयोजना सम्पन्न गर्न ५४.१२५ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ५२.११ हेक्टर स्थायी रूपमा र २.०१८ हेक्टर अस्थायी रूपमा आवश्यक पर्नेछ । आयोजनाको निर्माण अवधि चार वर्ष रहेको छ । 

अल्पकालीन र दीर्घकालीन सुधारका लागि काम गर्ने गरी अगाडि सारिएको आयोजनाको अल्पकालीन सुधारअन्तर्गत सडक निर्माणमा १० अर्ब ३८ करोड ७० लाख र दीर्घकालीन विकल्प (भायाडक्ट, सुरुङ)को नौ अर्ब ३७ करोड २० लाखसहित कुल लागत भ्याटसहित १९ अर्ब ७५ करोड ९० लाख प्रस्ताव गरिएको छ । अल्पकालीन सुधारअन्तर्गत विकल्पका रूपमा सडकखण्डलाई सबै मौसममा सुचारु रहने डबल बिटुमिनको सर्फेस टिट्रमेन्ट मापदण्डअनुसार स्तरोन्नति र पुलहरूको मर्मत–सम्भार गरिने भएको छ । 

दीर्घकालीन सुधार कार्यमा सडकमा अवस्थित घुम्तीलाई घटाउन र सडकको कुल लम्बाइ घटाउन ३८ स्थानमा भायाडक्ट, पाँच स्थानमा सुरुङमार्ग र बाइपास प्रस्ताव गरिएको छ । तर, यस विकल्पमा आयोजनाको लागत झन्डै दोब्बर हुने भएकाले यस अध्ययनमा यसलाई समावेश गरिएको छैन ।३८ स्थानमा भायाडक्ट निर्माणका लागि प्रस्ताव गरिएको छ । आठदेखि ९२ मिटर लामो र ६ देखि २० मिटर उचाइका ती भायाडक्ट निर्माणपछि सडकको लम्बाइ ४.४२ किलोमिटर घट्नेछ । भायाडक्ट प्रविधि हालसम्म नेपालका सडकमा प्रयोग भएको छैन ।

ठुला घुम्ती रहेका स्थानमा अग्ला पिल्लर राखेर पुलजस्तै गरी निर्माण गरिने आधुनिक संरचना भायाडक्ट हो ।
यसैगरी, पाँच स्थानमा गरी सात सय ५२ मिटर लामो सुरुङमार्गको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका पाँच सुरुङमार्गमध्ये सिद्धबाबामा दुई सय २७, मायाटारीमा एक सय ३२, स्याङ्जामा ९९, रामकोशमा एक सय तीन, भालुपहाडमा एक सय ९१ मिटर लामो रहनेछ । ती सुरुङमार्गले सडकको कुल लम्बाइ २.२३ किलोमिटर छोट्याउनेछ । यसैगरी, स्याङ्जाको पुतली बजारमा बाइपासको प्रस्ताव गरिएको छ । 

सडक स्तरोन्नतिका क्रममा एक हजार पाँच सय ४० रुख कटान, विद्यमान तीन सय ५५ घरधुरी, २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीका पोल, सातवटा ट्रान्सफर्मर, १३ वटा मठ–मन्दिर÷मस्जिद, एकपानी ट्यांकी गरी एक सय ६५ वटा सार्वजनिक पूर्वाधार प्रत्यक्ष प्रभावित हुनेछन् ।