मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Monday, 24 March, 2025
२o८१ चैत ९ शनिबार २o:५८:oo
Read Time : > 1 मिनेट
समाचार

राजनीतिले सही दिशा नलिँदा पुनरोत्थानवादी शक्तिहरू सल्बलाए: महासचिव भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार २o:५८:oo

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनोत्थानवादी शक्तिहरू सल्बलाएको बताएका छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए । 

एकीकृत समाजवादी रुपन्देहीको १०औं जिल्ला अधिवेशन उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्यूझिएर आउन सम्भव नरहेको बताए । यसका लागि गणतान्त्रिक शक्तिहरूमा सुधारको खाँचो रहेको उनको भनाइ छ । 

कुशासन र बेरोजगारी समस्याका कारण पुनरोउत्थान र पपुलिष्ट शक्तिहरूको स्वर चर्को भएको र यसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । महासचिव भुसालले राजनीतिक रुपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुरदशा हुने खतरा रहेको बताए । उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे । 

‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थेँ’ महासचिव भुसालले भने, ‘तर आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो, यो सामान्य कुरा होइन ।’ उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले दम्भ र घमण्ड त्याग्नुपर्ने बताए । ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन,’ महासचिव भुसालले भने, ‘रोजगारीको र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने ऐजेन्डामा आउनुस् ।’ 

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले संविधानको रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको दावी गरे । 

यस्तै, सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली बिशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी आफूहरूको भएको बताए । उनले नेपाली बिशेषताको समाजवादको कार्यक्रम, त्यसबाट सम्वृद्धि र कम्युनिष्ट एकताको कुरा गरेको बताए । 

अधिवेशन उद्घाटन सत्रमा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफ्नो पार्टी एजेन्डा ठिक भएकाले एकताबद्ध भएर लाग्नुपर्ने बताए । 

कार्यक्रममा नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि भट्टराई, पूर्व सांसद रामचन्द्र भट्टराई, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, माओवादी रुपन्देहीका संयोजक निर्मल जिसी, नेकपा रुपन्देहीका अध्यक्ष शरद वली, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी, रास्वपा रुपन्देही सचिव विष्णुप्रसाद पौडेललगायतले अधिवेशन सफलताको शूभकामना दिएका थिए । 

समाजवादीको शनिबार उद्घाटन सत्र र आइतबार बन्दसत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आइतबार बन्दसत्रमा सांगठिकलगायतका प्रतिवेदन र प्रस्तावमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्ने उपसचिव टंक पोख्रेलले बताए ।