मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Sunday, 23 March, 2025
२o८१ चैत ९ शनिबार o६:२o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

औरही गाउँपालिका अध्यक्ष शिवजी र जनमतका पालिका अध्यक्ष दिलीप पक्राउ 

घटनामा संलग्नमाथि जातीय छुवाछुत र विभेद तथा घर तोडफोड गरी विस्थापन कसुरमा जाहेरी दिने तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार o६:२o:oo

सिराहामा दलितको घरमा डोजर प्रकरण

सिराहामा विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाइएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्षसमेत रहेका जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव पक्राउ परेका छन् । जसपा नेपाल जिल्ला सदस्यसमेत रहेका शिवजी १७ चैतदेखि आयोजना हुने भनिएको विष्णु महायज्ञ आयोजक समितिका अध्यक्ष पनि हुन् भने दिलीप समितिका सचिव हुन् ।

सोधपुछका लागि दुवैजनालाई शुक्रबार साँझ ५ बजे नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी लालमणि आचार्यले बताए । ‘दुवैजना प्रहरीमा हुनुहुन्छ,’ आचार्यले भने ‘पीडितबाट जाहेरी परेपछि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’ पीडित परिवारले शनिबार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

दुवैजनाको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो । महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । जबकि ऐलानी जग्गामा बनेको घर दुई वर्षअघि मात्र मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत बनाइदिएको हो । 

राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार घटनामा संलग्नमाथि जातीय छुवाछुत र विभेद तथा घर ताडेफोड गरी विस्थापन गरेको कसुरमा शनिबार प्रहरीमा उजुरी दिने तयारी छ । यसबाहेक गाउँपालिका अध्यक्ष यादवले पदीय दुरुपयोग गरी घर तोडफोड गरेकाले अध्यक्षबाट निलम्बन गरी कारबाहीको मागसहित जिल्ला प्रशासन र दलित आयोगमा पनि पनि उजुरी दिइने उनले बताए । 

यो घटना मिडियामार्फत सार्वजनिक भएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । गाउँपालिका अध्यक्ष यादवसहित महायज्ञ आयोजकले पालिकाका तर्फबाट घर हटाउन पटक–पटक पत्राचार गरेको र त्यसपछि डोम परिवारको लिखित मञ्जुरी लिएर घर भत्काएको दाबी गर्दै आएका थिए । जबकि पीडितको मञ्जुरीनामा भनिएको कागजमा घर भत्काएको भोलिपल्ट ११ फागुनको मितिमा ‘जग्गाको प्रमाण हो’ भन्दै पालिकाका कर्मचारी मनोजकुमार यादवले सही गर्न लगाएको खुलिसकेको छ ।

दीपक औरही गाउँपालिका र उनकी पत्नी अनितादेवी पालिकामातहतकै औरही अस्पतालमा करारमा सफाइ कर्मचारीका रूपमा कार्यरत छन् । यो परिवारका लागि अहिले सुन्दर जनता माविको जग्गामा अस्थायी टहरा बनाइएको छ । 

सुरक्षाको ग्यारेन्टी गर्न मानव अधिकार आयोगको निर्देशन 
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको टोलीले शुक्रबारसम्म दुई दिन घटनाबारे सोधपुछ, अनुसन्धान गरेर फर्किएको छ । आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण साहनीले गाउँपालिका अध्यक्षसहित पीडित परिवार, महायज्ञका पुजारीसँग सोधपुछ गर्नुका साथै पालिकाबाट त्यससँग सम्बन्धित कागजात लिएको बताए । 

उनका अनुसार पीडित परिवारले महायज्ञस्थलबाट घर भत्काएर हटाइएपछि राखिएको नयाँ ठाउँमा खानेपानी, बिजुली, शौचालय तथा भौतिक सुरक्षाको विषयमा गुनासो गरेका थिए । ‘त्यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल खानेपानी, बिजुली, नयाँ घरको सुरक्षाको व्यवस्थापन गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘स्थानीय सरकारसहित प्रहरी प्रशासनलाई पीडित परिवारको सुरक्षाको व्यवस्थासहित पीडित पतिपत्नीले पालिकाको गर्दै आएको रोजगारीको बारेमा पनि सजग गराइएको छ ।’

ऐलानी जग्गामा बस्दै आएको डोम परिवारलाई हटाएर फेरि अर्को ऐलानी जग्गामै पुर्‍याइएको बारेमा पालिकालाई दिगो व्यवस्थापनसहित बसोबासका लागि पालिकाको ध्यानाकर्षण गराइएको उनले बताए । ‘आयोगले स्थानीय प्रहरी प्रशासनलाई पनि पीडितको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको छ,’ उनले भने । 

सिराहाका सिडिओ गृहमा तानिए
सिराहा घटनामा प्रभावकारी कदम नचालेकोे भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । गृहमन्त्री रमेश लेखकले दाहाललाई मन्त्रालय तानेर विश्वप्रकाश अर्याललाई सिराहा पठाएका हुन् । अर्याल कपिलवस्तुको सिडिओ थिए । घटना बाहिरिँदा पनि सिडिओ दाहाल र एसपी रमेश पण्डितले घटनालाई गम्भीरतापूर्वक नलिएको निष्कर्ष गृहको छ ।

सिडिओ दाहाल र एसपी पण्डित बिहीबार मात्र घटनास्थल औरही पुगेका थिए । उनीहरूले ‘सहमतिमै घर सारिएको, त्यसमा लिखित सहमतिपत्र रहेको र कृषि बजारीकरणको टेन्डरसमेत लागिसकेको कागजातबाट देखिन आएको छ’ भनेर माथिल्लो निकाय (गृह र प्रहरी प्रधान कार्यालय)मा रिपोर्टिङ गरेका थिए । गृहमन्त्री लेखकले घटनाको सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ । 

घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
सिराहा घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियानको संयोजनमा दलित अधिकारवादी संघसंस्थाले प्रदर्शन गरेका हुन् । ‘दलितलाई खै ?’ प्लेकार्ड बोकेका अभियन्ताले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । अभियानका संयोजक खगेन्द्र सुनारले गाउँपालिकाका अध्यक्षको संलग्नतामा दलित परिवारको घरमाथि डोजर चलाएर दमन गरिएको बताए । उनले भने, ‘यो घटनाको विरोधमा हातखुट्टामा नेल लगाएर प्रदर्शन गरेका हौँ, घटनामा संलग्नमाथि कानुन कारबाही हुनुपर्छ ।’