मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Monday, 24 March, 2025
२o८१ चैत ९ शनिबार o६:३५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई उद्योगले बुझाए बिजुलीको बक्यौता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार o६:३५:oo
  • न्यौपाने दाजुभाइका दुई उद्योगले तिरे एक करोड ६० लाख बक्यौता, लक्ष्मी स्टिलले पहिलो किस्ताबापत ८४ लाख ९८ हजार र सर्वाेत्तम सिमेन्टले दोस्रो किस्ताबापत बुझायो ३७ लाख ६३ हजार

उद्योगीको बक्यौता घटाउने उद्देश्यसहित ऊर्जामन्त्रीले बनाएको जाँचबुझ समितिलाई सर्वोच्च अदालतले वैधानिकता नदिएसँगै लोडसेडिङका वेला प्रिमियम सेवा लिएका उद्योगले बक्यौता बुझाउन सुरु गरेका छन् । लोडसेडिङका वेला पनि २४ घण्टासम्म विद्युत् प्रयोग गरेका दुई उद्योगले प्रिमियम बक्यौताको क्रमशः पहिलो र दोस्रो किस्ता शुक्रबार बुझाएका छन् । प्रिमियम सेवा लिएकामध्ये ३४ उद्योगले बक्यौता तिर्न बाँकी छ ।

शुक्रवार नवलपरासी सुनवलमा रहेको लक्ष्मी स्टीलले पहिलो र सुनवलमै सञ्चालित अर्काे उद्योग सर्वाेत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएका हुन् । उद्योगलाई २८ महिनाको किस्ता सुविधा दिने गरि प्राधिकरणको निर्णयअनुसार उनीहरूले किस्ता बुझाएका हुन् । 

प्राधिकरणको किस्तामा बुझाउन सकिने निर्णयअनुसार शुक्रवार लक्ष्मी स्टीलले पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको हो । उद्योगको २३ करोड ७९ लाख रुपैयाँ बक्यौता थियो । 

विद्युत प्राधिकरणको परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले अन्य किस्ता पनि नियमित तिर्ने प्रतिवद्धता लक्ष्मी स्टीलबाट आएको बताए । प्राधिकरणको पछिल्लो निर्णयअनुसार माघ ०७२ देखि बैशाख ०७५ (२८ महिना) सम्मको बक्यौता उठाउन लागिएको छ । 

यसैगरि सुनवलमै सञ्चालित अर्काे ठुलो उद्योग सर्वाेत्तम सिमेन्टले शुक्रबार नै बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने गरि यसअघि नै प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता बापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ थियो । त्यसमा उद्योगले गत १० कात्तिक पहिलो किस्ता तिरेको थियो । 

तर, त्यसपछि ऊर्जा मन्त्रालयले २ मंसिरमा उद्योगीको बक्यौता घटाउने उद्देश्य सहित जाँचबुझ समिति बनाएपछि उक्त उद्योग दोस्रा किस्ता तिर्न आएको थिएन । सोही समितिलाई देखाएर विद्युत् नियमन आयोगले ११ मंसिरमा बक्यौता असुलीको कारवाही यथास्थितीमा राख्न निर्देशन दिएको थियो । त्यसपछि उद्योग थप किस्ता तिर्न आएको थिएन । 

तर, गत आइतबार अर्थात् ३ चैतमा सर्वाेच्चले उक्त समिति गठनमा कानुनी आधार नभएको भन्दै समिति मार्फत कुनै पनि काम कारवाही नगराउन अन्तरीम आदेश दिएको छ । त्यसपछि प्राधिकरणलाई बक्यौता उठाउन बाटो खुला भएको छ । त्यसपछि उद्योग आफै आएर दोस्रो किस्ता तिरेको हो ।

सर्वाेत्तम सिमेन्ट र लक्ष्मी स्टिल उद्योगी विष्णु न्यौपानेको हो । बिष्णु न्यौपानेले सर्वाेत्तम सिमेन्ट र उनका भाई टिकाराम न्यौपानेले लक्ष्मी स्टीललाई नेतृत्व गर्दै आएका छन् । यसरी अन्य उद्योगीले बक्यौता तिर्न आनाकानी गर्दै गर्दा न्यौपाने दाजुभाईले भने एक करोड ६० लाख २४ हजार रुपैयाँ बक्यौता तिरी सकेका छन् । यी दुईको कुल बक्यौता ३५ करोड ७५ लाख रूपैैयाँ थियो । अब उनीहरूले ३४ करोड १४ लाख ७६ हजार रुपैयाँ तिर्नुपर्नेछ । योसँगै अब ३४ उद्योग मात्रै बक्यौता तिर्ने प्रक्रियामा आउन बाँकी छ । 

उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४ सै घण्टा विद्युत् दिइएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने भनिएको थियो । त्यसबाट विद्युत् प्रयोगका अधिकांश ग्राहकले प्रिमियमसहित महसुल तिरेका छन् । तर, केही सीमित उद्योगीले नियमित महसुल तिरे पनि प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् । 

लोडसेडिङको बेला ३२५ जना ग्राहक (उद्योग, अस्पताल लगायत) ले प्रिमियम महशुल दिने गरि यस मार्फत विद्युत् प्रयोग गरेका थिए । त्यसमा २६४ जनाले बक्यौता पहिला नै तिरेका थिए । एक बर्षअघि ६१ उद्योगको बक्यौता तिर्न बाँकी थिए । प्राधिकरणले लाइन काट्ने लगायतका कारवाही अघि बढाउँदा गत कात्तिकमा बक्यौता तिर्न बाँकी उद्योगको संख्या ४९ मा सिमित भएको थियोे । पछिल्लो उनीहरूलाई ४ कात्तिकको अल्टीमेटम दिदैं प्राधिकरणले बक्यौता तिर्न आह्वान गरेको थियो । 

त्यसबेला लाइन नकाट्दै रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, नेशनल रवर इन्डस्ट्री, नारायण रबर उद्योग र ए.जी हेल्थ इन्डस्ट्रीज गरेर ६ उद्योग महशुल तिर्न आएका थिए । त्यसबेला सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र हेटौडा सिमेन्टले बक्यौता तिर्ने लिखित प्रतिवद्धता पठाएको थियो । तर, बजेट अभावका कारण उक्त उद्योगले बक्यौता तिरेको छैन । 

त्यसपछि दुई सरकारी र अदालतबाट स्टे अर्डर पाएका सात बाहेक गरेर प्राधिकरणले ३४ उद्योगमा लाइन काटेको थियो । लाइन काटेपछि सर्वाेत्तम सिमेन्ट सहित जिबी टेक्सटाइल–१, जिबी टेक्साटाइल–२, बिनायक स्पात, नव नेपाल प्लाष्टिक इन्डस्ट्रीज र शुभलक्ष्मी पोलिमर्स गरेर ६ उद्योगले बक्यौता तिर्न सुरु गरेका थिए । त्यसपछि उनीहरूको उद्योगमा लाइन जोडिएको थियो । 

अन्य २८ उद्योगमा लाइन काटीएकै अवस्थामा थियो । त्यही क्रममा २५ कात्तिकमा मन्त्रीपरिषद्ले टिओडी मिटरसमेतको आधारमा बक्यौता गणना गरि १५ दिन भित्र बक्यौता उठाउने र तत्काललाई उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिले २७ कात्तिकमा उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । साथै, पहिला पनि टिओडी मिटरकै आधारमा बिल काटेको भन्दै पुरानै बिलअुनसार उद्योगलाई १२ मंसिर भित्र बक्यौता तिर्न पत्रचार गरेको थियो । अन्यथा उद्योगमा लाइन काटीने प्राधिकरणको चेतावनी थियो । 

तर, सुरुदेखि नै उद्योगीको पक्ष लिएका ऊर्जा मन्त्री दीपक खड्काले बक्यौता घटाउने उद्देश्य सहित २ मंसिरमा मन्त्रालयमै जाँचबुझ समिति बनाएका थिए । त्यसपछि ११ मंसिर र ९ फागुनमा आयोगले सोही समितिलाई देखाएर विद्युत् बक्यौता असुलीको कारवाही अर्काे निर्देशन नआएसम्म यथास्थितीमा राख्न निर्देशन दिएको थियो । त्यसपछि बक्यौता असुली अन्योलमा थियो । तर, गत ३ चैतमा मन्त्री खड्काले बनाएको समितिलाई काम गर्न नदिनु भन्दै सर्वाेच्चले अन्तरीम आदेश दिएको छ । त्यसपछि अहिले प्राधिकरण बक्यौता असुलीको कारवाही अघि बढाउन सहज भएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीको बक्यौता उठाउने बिषयमा छलफल भइरहेको बताए । ‘मन्त्रालयले बनाएको जाँचबुझ समितिलाई देखाएर आयोगले कुनै कारवाही नगर्नु भनेपछि हामीले थप काम गर्न सकेका थिएनौं । अहिले उक्त समितिबाट काम नगराउनु भनेर अन्तरिम आदेश आइसकेको छ,’ उनले भने, ‘अब आवश्यक छलफल गरेर यसमा अघि बढ्छौं । शुक्रबार मात्रै दुई उद्योगले किस्ता तिरेका छन् । अब अन्य उद्योगी पनि बक्यौता तिर्न आउनुपर्छ । सबैले बक्यौता तिर्न पर्छ ।’