मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ७ बिहीबार
  • Monday, 24 March, 2025
सौरभ यादव राजविराज
२o८१ चैत ७ बिहीबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा सुनियोजित ढंगले चिट चोराउने २६ कर्मचारीलाई कारबाही

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत ७ बिहीबार १८:o७:oo

एसइई परीक्षामा सुनियोजित ढंगले चिट चोरी गराएको भन्दै सप्तरीमा २६ जना कर्मचारीलाई कारबाही गरिएको छ। दुई परीक्षा केन्द्रका २६ जना कर्मचारीलाई कारबाही गरिएको जिल्ला परीक्षा समन्वय समिति सप्तरीले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरीका एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र ६ निरीक्षकलाई कारबाही गरिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए। उनीहरूले एउटै विद्यालयका विद्यार्थीलाई एकैकोठामा राखेर सुनियोजित ढंगले चोरी गराएकाले कारबाही गरिएको दाहालले बताए।

‘कोठा नं १, ७ र ८ मा एकै विद्यालयका सबै विद्यार्थीहरू राखिएको थियो। एक छेउमा विद्यालय पोसाक लगाएको र अर्को छेउमा बाहिरी पोसाक लगाएका विद्यार्थी थिए,’ उनले भने।

त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालयका १८ जना कर्मचारीलाई कारबाही गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारीहरू अनुगमनमा जाँदा कक्षाकोठामा प्रश्नको जवाफसहितको चिट भेटिएपछि केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र १६ जना निरीक्षक कारबाहीमा परेका हुन्। ‘कोठा नं १, २, ३, ४, ५ र ७ मा दशवटै प्रश्नको जवाफ भएको करिब २५ वटा चिट भेटियो,’ प्रजिअ दाहालले भने।

सप्तरीमा रहेका ३७ वटा केन्द्रमध्ये २५ वटाको बिहीबार अनुगमन भएको छ। प्रजिअ दाहालका अनुसार ६ वटा टोलीले प्रथम दिन अनुगमन गरेको छ। भोलिदेखि १० वटा अनुगमन टोली बनाएर सबै केन्द्रको अनुगमन गरिने उनले जानकारी दिए।