मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Sunday, 23 March, 2025
मुख्य समाचार डिजिटल संस्करण

डोम परिवारको उठिबास घटना : अध्यक्ष यादवका छोराले घरमै पुगेर दिए धम्की 

अनिता आफन्तको शरणमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार १o:३६:oo

महायज्ञस्थलबाट अछुत भन्दै डोम परिवार दिपक मल्लिकको घर भत्काउन संलग्न रहेको आरोपमा गाउँपालिका अध्यक्ष समेत रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष शिवजी यादवससहित दुई जना पक्राउ परेपछि शुक्रबार राति उनको छोराको नेतृत्वमा गएको समूहले डोम परिवारलाई बयान फेर्न दबाब दिँदै धम्क्याएको छ।

अध्यक्ष यादवसहित समितिका सचिव तथा औरही ५ का पूर्व वडाध्यक्ष दिलिपकुमार यादवलाई समेत शुक्रबार साँझ सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएपछि राती करिब साढे ९ बजेतिर गाउँपालिका अध्यक्ष यादवका छोरा रुकेश यादव लगायत करिब १५–२० जनाको समूहले मल्लिकका छोराछोरीलाई घरमै पुगेर धम्क्याएको हो । आफ्नो बाबुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि रुकेश जिल्ला प्रहरी कार्यालयमा नारा जुलुश गर्न जाने क्रममा गल्फुधार किनारमा बाँसको कटेरोमा बस्दै आएका मल्लिकका छोराछोरीलाई ‘तिमीहरुको कारणले मेरो बाबु पक्राउ परे, हामीसँगै प्रहरीमा हिँड र केही भएको छैन भन्ने बयान देउ’ भन्दै धम्क्याएको एक स्थानीयले बताए । 

उनका अनुसार यादवको छोराको नेतृत्वमा रहेको समूहले प्रहरीमा गएर बयान नफेरे यहाँबाट पनि लखेटिदिन्छौं भन्दै धम्क्याएको हो । घरमै आएका धम्क्याएपछि मिल्लककी श्रीमती राती नै ज्यान जोगाएर सिरहा नगरपालिका १९ सन्हैठास्थित आफन्तको शरणमा पुगेकी छन् भने दिपक स्थानीयको संरक्षणमा बसेका छन् । १ फागुनमा विवाह गरेकी बुहारी सप्तरीको पत्थरगाडास्थित माइतीमा गएर बसेकी मल्लिक परिवारका चार जना छोराछोरीलाई घरमै पुगेर धम्क्याएको जानकारी पाएपछि प्रहरीले रातभर सुरक्षा दिएको सिरहा प्रहरीले जनाएको छ । 

पालिका अध्यक्षसहित दुई जना पक्राउसँगै पीडित दिपक मल्लिकले शनिबार प्रहरीमा घटनामा संलग्नमाथि जातीय छुवाछुत र विभेद तथा घर तोडफोड गरी विस्थापन कसुरमा शनिबार जाहेरी दिन लागेका छन् । उक्त सूचना पाएपछि सनातनी धर्मको नाममा शुक्रबार राती महायज्ञस्थलमा फरार भनिएका बजरंगी बाबाको नेतृत्वमा डोम परिवारको समाचार प्रकाशित गरेका मिडियाहरु विरुद्ध नाराबाजी गर्न लगाइएको छ । 

१७ चैतदेखि आयोजना हुन गइरहेको दिने विष्णु महायज्ञस्थलबाट बजरंगी बाबाको निर्देशनमा ‘अछुत’ भन्दै जातीय जनता आवासको दुई कोठे पक्की घर गत १० फागुनमा भत्काएर डोम परिवारलाई बिस्थापित गरिएको थियो । डोम परिवारको घरले चर्चेको जमिन अपवित्र रहेको भन्दै माटो ताछेर फालिएको घटना मिडियामार्फत  उजागर भएपछि राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ भने संघीय सांसद्, प्रदेश सांसद् तथा दलित अभियन्ताहरुले गाउँपालिका अध्यक्ष जस्तो व्यक्तिले आफ्नै अगुवाइमा जातीय विभेद गरेकाले तत्काल पक्राउ गरी कानुनी कारबाहीसहित निलम्बन गरिनु पर्ने माग उठाएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।