मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Monday, 24 March, 2025
२o८१ चैत ९ शनिबार २o:३७:oo
Read Time : > 1 मिनेट
समाचार

विभेद अन्त्य गरी नमुना बन्यो पुल्लेतोलाको रिठागाउँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार २o:३७:oo

विकास पूर्वाधारमा पुछारमा रहेको अछाम पुल्लेतोलाको रिठागाउँ सामाजिक सद्भावमा भने नमूना बनेको छ । गाउँमा सबै खाले विभेद अन्त्य गरी नमूना बनाइएको हो ।

कुनै वेला दलितले गैरदलितको घरमा पाइला टेक्न नपाउने, भोजभतेर र मन्दिरमा दलितलाई निषेध गरिने यस गाउँमा महिनावारी हुँदा महिलामाथि हुने भेदभाव र बाल हिंसाले सीमा नाघेको देखिन्थ्यो । तर, अहिले ति सबै खाले विभेद् अन्त्य गरेर रिठा गाउँलाई नमूना गाउँका रुपमा विकास गरिएको भवानीदेवी माविका प्रधानाध्यापक जनक रावलले बताए । ‘त्यो बेला दलितमाथि निकृष्ट व्यवहार गरिन्थ्यो,’ उनले भने, ‘धारा, पधेँरा र घर सबैतिर छोइछिटो हुन्थ्यो । अहिले भान्सा समेत एउटै चल्छ ।’ महिलाहरू महिनावारी हुँदा हुने विभेद र बालहिंसा समेत सुधारोन्मुख रहेको उनले बताए । शनिबार भवानी माविमा आयोजित बाल कचहरीमा सामाजिक विभेदको अवस्था बारे हालै गरिएको सर्वेक्षणको तथ्यांक सुनाउँदै प्रधानाध्यापक रावलले ८५ प्रतिशत महिला महिनावारी हुँदा घरमै बस्ने गरेको र तिमध्ये ४० प्रतिशत परिवारले त भान्सा समेत एउटै चलाउने गरेको बताए । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ मा पर्ने यो गाउँमा जातिय विभेद भने सतप्रतिशत सुध्रिएको रावलले तथ्य प्रस्तुत गरे ।

२५ वर्ष अघिदेखिको प्रयासले हाल गाउँलाई नमूना गाउँका रुपमा परिचय दिन सफल भएको कार्यवहाक वडाध्यक्ष टंक भण्डारीले बताए । ‘यहाँ सबै विभेद अन्त्य भइसकेको छ,’ उनले भने, ‘यो गाउँमा जात, धर्म, लिंग कुनैमा पनि विभेद छैन । यो ठूलो सफलता हो ।’ उनका अनुसार त्यो बेला मदिराले थिलोथिलो परेको रिठा गाउँका महिला र बालबालिका अहिले खुसीले दंग छन् । मदिराले मातेकाहरूको होहल्लाले अशान्ति भइरहने यो गाउँमा अहिले शान्ति छ । जसका कारण महिला र बालबालिका माथि हुने विभेद अन्त्य भएको स्थानीय सपना रावलले बताइन् । ‘अघिल्लो पुस्ताका ज्येष्ठ नागरिकलाई समेत सम्झाउन सकेका छौँ,’ उनले भनिन्, ‘उहाँहरू समेत विभेद गर्नु हुन्न ।’ धामीझाँक्री र पुजारीहरू समेत विभेदविरुद्ध उभिएपछि सहज भएको रिठा गाउँकी ६० वर्षीया औसी कठायतले बताइन् ।

बाल विकास, बाल समृद्धि र बाल सरोकार बारे काम गर्दै आएको वल्डभिजन÷आस्था नेपालका फिल्ड अधिकृत डिलबहादुर शाहीका अनुसार पुल्लेतोलामा बाल सम्वृद्धिमा व्यापक सुधार देखिन्छ । महिला र बालबालिका सँग सम्बन्धित विभेदहरु लगभग शुन्यमा झरेको उनको दाबी छ ।

बाल कचहरीमा सहभागी स्थानीय बालबालिकाले भने विभेदविरुद्ध अझै सक्रिय बन्न जनप्रतिनिधिसँग माग गरेका छन् । 

रिठागाउँकी कृष्णा बटाला, रमिला रावल, पबि नेपाली र स्थानीय साथी शिक्षक देवसरा खत्रीले सामाजिक सञ्जालका कारण आफुखुसी हुने बालविवाह शून्यमा झार्न नसकिएको बताए । त्यसका लागि विशेष प्रशिक्षण वा कार्यक्रम लागु गर्न उनीहरूले स्थानीय सरकारसँग माग गरेका छन् ।