अस्पताल उद्घाटन भयो, तर छैनन् डाक्टर र उपकरण

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ६ करोड ७८ लाख रुपैयाँ खर्चेर पाँच शङ्ढयाको अस्पताल भवन निर्माण गरिएको छ । अस्पताल उद्घाटन पनि भइसकेको छ । तर, उपचारका लागि आवश्यक चिकित्सक, उपकरण र प्राविधिक जनशक्तिको अभावमा अस्पतालबाट अपेक्षित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरेको हो । तर, अस्पताल सञ्चालनका लागि आवश्यक न्यूनतम व्यवस्था नहुँदा भवन निर्माण र उद्घाटनसँगै नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित हुन सकेको छैन । अस्पतालमा डाक्टर नै छैनन् । बिरामीको स्वास्थ्य परीक्षण तथा रोग पहिचानका लागि आवश्यक एक्सरे र अल्ट्रासाउन्ड (भिडियो एक्सरे) उपकरण उपलब्ध छैनन् । दन्त उपचारका लागि आवश्यक डेन्टल फोर्सेप सेटलगायत सामग्रीसमेत नभएको मिक्वाखोला गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख ललितनारायण यादवले बताए । भएका उपकरणसमेत सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरिएको छैन ।

अस्पतालमा प्रयोगशाला (ल्याब) भए पनि सञ्चालनमा आएको छैन । ल्याब चलाउन आवश्यक ल्याब असिस्टेन्ट नहुँदा सञ्चालनमा नआएको संयोजक यादवले बताए । एक्सरे मेसिन खरिद गरिएको छैन । उपकरण सञ्चालन गर्न आवश्यक प्राविधिक जनशक्ति पनि छैन । यसले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई आवश्यक परीक्षण र उपचार उपलब्ध गराउन समस्या सिर्जना गरेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढाका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गन निर्माण गरिएको अस्पतालमा चिकित्सक र आधारभूत उपकरणकै अभाव हुनु सेवा सञ्चालनको चुनौती बनेको छ । अस्पताल भवन बनेपछि गाउँमै उपचार पाइने आशा गरेका स्थानीयवासीले सेवा प्रभावकारी रूपमा सञ्चालन हुन आवश्यक जनशक्ति र उपकरणको व्यवस्था कुरिरहेका छन् ।

अस्पताललाई प्रभावकारी बनाउन चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति, प्रयोगशाला सञ्चालन, एक्सरे र अल्ट्रासाउन्ड सेवाका लागि उपकरण तथा प्राविधिक जनशक्तिको चाँडो व्यवस्था गर्न स्थानीयले माग गरेका छन् । दन्त उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने, नागरिकले आवश्यक परेको समयमा उपचार, परीक्षण र स्वास्थ्य उपचार पाउनुपर्ने उनीहरूको भनाइ छ । चौतर्फी चासो र चिन्ता व्यक्त भएपछि गाउँपालिकाले हालै एक डाक्टरसहित सातजना स्वास्थ्यकर्मीको विज्ञापन निकालेको छ । 

सुझावित समाचार