
सोमबार राति बरामद भएको २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर र युरो तस्करीको नाइकेका विषयमा प्रहरी अनभिज्ञ देखिएको छ । पक्राउ परेका ट्रकचालक र तस्करी समूहबिचको प्रत्यक्ष सम्पर्क नदेखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताए ।
विभिन्न तह बनाएर उनीहरूले ठुलो मात्रामा विदेशी मुद्रा नेपालबाट चीन तस्करी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । गिरोहका नाइके चिनियाँ भएको अनुमान छ । गिरोहका मुख्य व्यक्तिमाथि अनुसन्धान अघि बढाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत बताउँछन् ।
टोखा नगरपालिका– २ झोरबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका– २ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको हो । लामाले ना.७ ख १६५२ नम्बरको ट्रकमा चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई डलर र युरो लुकाएका थिए । तर, त्यो डलर राखिदिने व्यक्ति नचिनेको उनको भनाइ छ । एसएसपी बस्नेतका अनुसार लामो समय सो ट्रक एक ग्यारेजमा राखेर रंगरोगन गरिएको थियो । सो विदेशी मुद्रा पनि केही दिनअघि नै ट्रकमा राखिएकाे प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोमबार राति नै उनीहरूले केरुङ लैजाने प्रयास गर्नुकाे कारणबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
सोमबार राति नै नेपाल प्रहरीको नेतृत्व फेरिएको थियो । वसन्तबहादुर कुँवरले सोमबार राति अवकाश पाएकोमा दीपक थापाले मंगलबारदेखि कार्यभार सम्हाल्दै थिएँ । त्यहीबिचमा ठुलो रकम तस्करीको प्रयास भएको देखिन्छ । ‘तस्करहरूले नेतृत्व परिवर्तनको मौका कुरेर बसेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘नेतृत्व परिवर्तनको संक्रमणमा प्रहरी सुस्त हुन सक्ने आकलन पनि हुन सक्छ, तर हामीले सूचना पाएदेखि नै उनीहरूको निरन्तर निगरानी गर्दै आएका थियौँ। जसकारण इतिहासमै धेरै विदेशी मुद्रा बरामद गर्न सफल भयौँ।’
नेपालमा सुन तस्करी गर्दै आएको गिरोहले सो रकम चीन तस्करी गर्न लागेको हुन सक्ने पनि प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका चालक लामा ०७३ पुस १३ गते सात केजी सुनसहित पक्राउ परी राजस्व छली, सुन चोरी पैठारी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरी छुटेका थिए । छुटेपछि ट्रक किनेर चलाउँदै आएका थिए । यसअघि पनि उनी पटकपटक केरुङ नाका पुगेर सामान ओसारपसार गर्दै आएका थिए । जसकारण अहिले पनि सुन तस्करी गर्ने नेटवर्कमा आबद्ध भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । यति ठुलो वैदेशिक मुद्रा उनीहरूले कसरी संकलन गरे भन्ने विषय पनि रहस्यमै छ ।
भिडियो-