
सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई मापदण्डविपरीत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओका रूपमा बैतडी दशरथचन्द नपा–४ का भट्टलाई नियुक्त गरेको हो । गृहमन्त्री रमेश लेखकका भान्जा भट्ट कांग्रेस महासमिति सदस्य पनि हुन् ।
सरकारले प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि बनाएको मापदण्डविपरीत उनी नियुक्त भएका छन् । गृहले गत १४ मंसिरमा प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दर्खास्त आह्वानसम्बन्धी सूचना सार्वजनकि गरेको थियो । उक्त सूचनामा प्राधिकरणको कार्यकारी प्रमुख हुन कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको हुनुपर्ने उल्लेख छ । सूचनाकोे बुँदा नम्बर ‘घ’ अनुसार राजनीतिक दल वा संगठनको सदस्यता लिएका व्यक्ति उम्मेदवार हुन पाउनेछैनन् ।
तर, नवनियुक्त कार्यकारी प्रमुख भट्ट कांग्रेस नेता हुन् । उनी कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । साथै उनलाई ०७० को निर्वाचनमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार सिफारिससमेत गरेको थियो । ०६४ मा तरुण दलको केन्द्रीय सदस्य भएका उनले ०७३ मा तरुण दलमै महासचिव उम्मेदवारी दिएका थिए । महाधिवेशनमा पराजित भएका थिए । ०६४ मा नेपाल विद्यार्थी संघको शिक्षा विभाग प्रमुख रहेका उनी ०५९ मा केन्द्रीय सदस्य थिए । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा भट्ट ०५५ मा स्ववियू सदस्य थिए भने त्यसपछि स्ववियू सभापतिको उम्मेदवारसमेत बने । उनी ०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा पार्टटाइम लेक्चरर थिए ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्राधिकरणको सिइओमा दिनेश भट्ट नियुक्त भएको सूचना प्राप्त भएको बताए । उनले भने, ‘प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त भएकोे खबर मैले पनि सञ्चार माध्यमबाट पाएको छु ।’
गृहले ३० फागुनमै प्राधिकरणको कार्यकारी प्रमुखका लागि भट्टसहित मोरङ विराटनगर महानगरपालिका–१० का सुमनकुमार कर्ण र रोल्पा सुनील स्मृति गापा–२ का मन्दीप सुवेदीको नाम सर्टलिस्टमा परेको सार्वजनिक गरेको थियो । त्यसलगत्तै गृहले तीनैजनाको नामावलीसहितको प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषद् बैठकमा लैजान मुख्यसचिव कार्यालयमा दर्ता गराएको थियो । तर, आफूले चाहेको व्यक्ति नियुक्त हुने अवस्था नदेखेपछि गृहमन्त्री लेखकले केही महिना मुख्यसचिव कार्यालयमा नै प्रस्ताव अड्काइदिएका थिए ।
स्रोतका अनुसार भट्टको नियुक्ति प्रक्रियालाई लिएर परराष्ट्रमन्त्री आरजु देउवासमेत असन्तुष्ट थिइन् । विरोध हुन सक्ने देखिएपछि मन्त्री लेखकले करिब एक महिना नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा नै लगेनन् । सिभिल इन्जिनियर भट्टसँग विपत्सँग सम्बन्धित कुनै अनुभव छैन ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा कार्यकारी प्रमुख सिफारिस समिति गठन गरेको थियो । समितिले बिहीबार भट्टलाई पहिलो, सुमन कर्णलाई दोस्रो र मन्दीप सुवेदीलाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । भट्ट गृहमन्त्री लेखकको जोडबलमा पहिलो नम्बरमा सिफारिसमा पारिएका थिए भने कर्णलाइ उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रुचाएका थिए । सुवेदी पनि कार्यकारी प्रमुख बन्न कांग्रेस नेताहरूको घरदैलोमा पुगेका थिए ।
भट्ट र गृहमन्त्री लेखकको पुख्र्याैली घर बैतडी हो । उनी कांग्रेसको राजनीतिबाहेक ललितपुरस्थित युनिभर्सल कलेजका संस्थापक सदस्य तथा सेयर सदस्य हुन् ।
यसरी परेका थिए भट्ट पहिलो नम्बरमा
गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको सिफारिस समितिले ९ पुसमा कार्यकारी प्रमुखका १६ प्रतिस्पर्धीको अंक सार्वजनिक गर्दा बैतडीका भट्ट ११औँ नम्बरमा थिए । योग्यता, तालिम र अनुभवबापतको अंकका आधारमा सूची सार्वजनिक गरिएको थियो । तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै दुई दिनमै अर्काे सूची सार्वजनिक भयो, जसमा भट्टको अंक २० बाट बढेर २२.५ आएपछि १६ जनाको सूचीमा ६ नम्बरमा उक्लिए ।
तर, ४५ दिनको समयावधि पाएर ६ मंसिरमा गठन भएको समितिको म्याद फेरि ३५ दिन थपेर राजनीतिक चलखेल सुरु भयो । ७ माघको मन्त्रिपरिषद् बैठकले समितिको म्याद ३५ दिन थपेको थियो । ११औँ नम्बरमा रहेका भट्ट २९ माघमा शीर्ष पाँचमा परे । व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको सूची सार्वजनिक गरिएको थियो । वर्णानुक्रमअनुसार भट्ट, धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम शीर्ष पाँचमा थियो ।
तर, ३० माघमा भएको अन्तर्वार्तापछि बिहीबार तीनजनाको नाम सिफारिस भएको थियो, जसमा भट्ट पहिलो नम्बरमा थिए । दुवाडी नेतृत्वको सिफारिस समितिमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ छन् । सिफारिस समितिका सदस्य सुवेदीले सार्वजनिक संस्थानको नियुक्ति मापदण्डमा रही सिफारिस गरिएको दाबी गरे ।