
अवैध रूपमा भारतबाट नेपाल ल्याउँदै गरेको १५ लाख रुपैयाँबराबरको विदेशी ब्रान्डका चुरोट कपिलवस्तुको कृष्णनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्यको चुरोट बरामद गरेको बताएको छ। कृष्णनगरमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थलबाट लु.२ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा लुकाएर राखिएको चुरोट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति नेत्र केसीले जानकारी दिए।
बेलायतमा उत्पादन भएको चुरोट कृष्णनगर हुँदै काठमाडौं पुर्याउने उद्देश्य रहेको हुन सक्ने सशस्त्र प्रहरीकाे भनाइ छ। सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चुरोट फेला परेको जनाएको छ।
रिचमोन्ड ब्रान्डका तीन हजार प्याकेट, म्यानचेस्टर ब्रान्डका एक हजार प्याकेट र एल एन्ड बी ब्रान्डका एक हजार प्याकेट चुरोट कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंहले बताए।