मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Tuesday, 18 March, 2025
नवराज मैनाली काठमाडौं
२o८१ चैत ४ सोमबार २२:५६:oo
Read Time : > 2 मिनेट
समाचार

दीपक थापाको संयोगः केपी ओली गृहमन्त्री हुँदा इन्सपेक्टरमा भर्ना, प्रधानमन्त्री हुँदा महानिरीक्षकमा नियुक्त 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार २२:५६:oo

२०५० सालमा नेपाल प्रहरीले एक सय जना प्रहरी निरीक्षक( इन्सपेक्टर)को भर्ना खुलायो । त्यतीबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री तथा शेरबहादुर देउवा गृहमन्त्री थिए। 

भर्नाको प्रक्रिया चलिरहेकै बेला २०५१ साल २९ कात्तिकमा संसदीय निर्वाचन भयो । सत्ताको नेतृत्वमा रहेको  ठूलो दल नेपाली कांग्रेस निर्वाचनमा दोस्रो दल बन्न पुग्यो । एमाले पहिलो दल बन्यो । नयाँ सरकार गठनको तयारी अघि बढ्दा ५ मंसिरमा प्रहरीले एक सय जना इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशन गर्‍यो। 

त्यसको ६ दिनपछि अर्थात् ११ मंसिरमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बन्यो । केपी शर्मा ओली गृहमन्त्री बने । 

नयाँ सरकार बनेसँगै एक सय जना इन्सपेक्टरको भर्ना विवादमा पयो। त्यतीबेला अहिलेजसो लोक सेवा आयोगले प्रहरीको भर्नाको परीक्षा लिने प्रचलन थिएन। प्रहरीले आन्तरिक रुपमा परीक्षा लिने भएकाले ‘सोर्सफोर्स’ समेत चल्दथ्यो ।  चुनावपछि कांग्रेसले भर्ना गरेको इन्सपेक्टर भएकाले उनीहरु कांग्रेस निकट भएको आशंकामा एमाले नेतृत्वको सरकारले लामो समय उनीहरुको नियुक्ति रोक्यो । 

त्यतीबेला प्रहरीमा इन्सपेक्टरका ५० मात्र दरबन्दी रिक्त थिए। तर, एक सय जनाको भर्नाको नजिता निकालिएको थियो । लामो विवादपछि ५  चैतमा    नतिजाको रोलक्रमका अगाडि रहेका ५० जनालाई नियुक्ति दिइयो  । दुई जनालाई भर्ना गरेर बिशेष प्रहरीमा पठाइयो । थप आठ जनालाई वैकल्पिक सूचीमा राखेर बाँकी ४० जनालाई नियुक्ति नगर्ने निर्णय भयो ।  

त्यसरी चैत ५ मा भर्ना भएकामध्ये एक हुन् सोमबारदेखि अवकाशमा गएका ३० औं महानिरीक्षक बसन्तबहादुर कुँवर ।  वैकल्पिक सूचीमा परेका आठमध्ये एक हुन् सोमबार प्रहरीको ३१ महानिरीक्षकमा नियुक्त भएका दीपक थापा । थापा पनि कुँवरसँगै चैतमै भर्ना भएको भए सायद उनीसँगै सोमबार अवकाशमा जान्छे । वैकल्पिक सूचीमा परेर ५ महिनापछि भर्ना हुँदा उनले अहिले प्रहरीको सर्वाेच्च पदमा पुग्ने अवसर जुरेको छ । 

हाल प्रधानमन्त्री रहेका ओलीकै पहलमा त्यतीबेला थापा लगायत ८ जनाले १९ भदौ २०५२ मा नियुक्ति पाएका थिए । त्यसको एक सातापछि नै मनमोहनको सरकार ढलेको थियो । साढे २९ वर्षपछि अहिले उनै ओली प्रधानमन्त्री भएका बेला थापा  महानिरीक्षकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो। 

थापाको करिअरको ‘टर्निङ प्वाइन्ट’  
प्रहरीमा आउनुअघि थापाले स्थायी शिक्षक थिए । प्रहरी निरीक्षकमा नाम निस्किएपछि उनले राजीनामा दिए । तर, लामो समयसम्म पनि नियुक्ति  नपाएपछि उनी फेरि शिक्षण पेशामै फर्किएका थिए । नौ महिनापछि इन्सपेक्टरको नियुक्ति पाए।

भर्नादेखि प्रहरी महानिरीक्षकसम्मको उनको यात्रा उतारचडावपूर्ण छ ।  २०६३ भदौमा डिएसपी भएका उनी एसपी बढुवामा छुटेका थिए । २०७१ सालमा भएको एसपी बढुवामा उनको ब्याचका  धेरैजसो पर्दा थापा छुटेपछि उनको प्रहरी नेतृत्वमा पुग्ने सपना लगभग असम्भव जस्तै भइसकेको थियो । त्यतीबेला उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थिए । बढुवाप्रति असन्तुष्टि जनाउँदै त्यसबेला फेसबुकमा स्टाटस समेत लेखका थिए । 

चार महिनापछि उनी एसपीमा बढुवा भए । एसपीबाट एसएसपी बढुवामा छलाङ नै हाने । कतिसम्म भने उनकै लागि सरकारले प्रहरी नियमावली नै संशोधन गर्‍यो । त्यसबेला एसएसपीमा बढुवा हुन पदावधि चार वर्ष हुनुपर्ने प्रावधान थियो । प्रहरीमा एसएसपीमा १५ पद रिक्त थिए । उनको लागि अनुकुल माहोल थियो, तर प्रहरी प्रहरी नियमावलीको मापदण्डअनुसार उनको पदावधि करिब पाँच महिना पुगेको थिएन । उनकै लागि त्यतीबेला सरकारले प्रहरी नियमावली संशोधन गरी चार वर्षको प्रावधानलाई तीन वर्षमा झार्‍यो । वरियतामा अरुलाई पछि पार्दै उनी एसएसपी भए । यो नै उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ थियो ।

 २०७९ को असारमा डिआइजी तथा २०७९ को चैतमा एआइजीमा बढुवा भएका थिए। एआइजीमा बढुवा भएको ठिक दुई वर्षपछि उनी आइजिपी बन्न सफल भएका छन् । करिब साढे पाँच महिना उनले प्रहरीको कमाण्ड गर्नेछन् । 

थापालाई नजिकबाट चिनेकाहरू उनी सत्ताका प्रिय प्रहरी भएको टिप्पणी गर्छन् ।  सबै दलका शीर्ष नेतासँग उनले सुमधर सम्बन्ध राखे । ‘उहाँ कसैलाई चिढ्यायन नचाहने प्रवृत्तिको हुनुहुन्छ, जोखिम लिने कार्यशैली छैन’ एक प्रहरी अधिकारी भन्छन्,‘प्रहरी महानिरीक्षकको रुपमा त्यो कार्यशैली फेरिएन भने संगठनलाई चर्काे पर्न सक्छ ।’ 

थापाले संगठनमा धेरै सुधारको अपेक्षा प्रहरी अधिकारीले गरेका छैनन् । किनकी उनमा राजनीतिक दबाब झेल्ने स्वभाव छैन । तर, समन्वयमा अब्बल क्षमता भएकाले उनले प्रहरीको स्रोत साधन बढाउन भने पहल गर्ने सक्ने प्रहरी अधिकारी बताउँछन् । 

नवनियुक्त महानिरीक्षक थापा आफ्नो कार्यकाल छोटो भएपनि प्रहरीलाई बलियो बनाउन अधिकतम प्रयास गर्ने बताउँछन् । ‘हालका प्रहरी महानिरीक्षकले अघि बढाएका राम्रा कामलाई पनि निरन्तरता दिन्छु,’ नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै उनले भने,‘प्रहरीलाई कसरी बलियो बनाउन सकिन्छ त्यसमा सबैको सल्लाह लिएर अघि बढ्छु, प्रहरीलाई प्रहरी जस्तो बनाउने मेरो मुख्य उदेश्य हुनेछ । प्रहरीमा स्रोत साधन बढाउनेदेखि आन्तरिक शुद्धीकरण पनि मेरो प्राथमिकतामा रहेनछ ’