मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १४:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा बढ्यो मकै उत्पादन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १४:१२:oo

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन)अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।

परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष ०८०/८१ मा मात्र ३२ हजार आठ सय ९४ मेट्रिक टन मकै उत्पादन भएको थियो । बर्सेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष ०७९/८० मा २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड– १० जातको मकै लगाउने गरिएको छ ।


सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव ०७९/८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव ०८०/८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो । यसरी बर्सेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताए । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने गरेको छ ।

रामपुर हाइब्रिड– १० सहित अरुण– २ र रामपुर कम्पोजिट जातको मकैको बिउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ । यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छ भने बिउ कम्पनीले बिउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ।

मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताए ।

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ । विभिन्न बालीको विशिष्टीकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृंखला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष ०७३/७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ ।

‘यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाइ मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो,’ सूचना अधिकारी कँडेलले भने, ‘सर्वप्रथम किसानको यसप्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।’ अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कस्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।