मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार ११:५२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतले राति विद्युत् नदिएपछि प्राधिकरणको रणनीति : दिउँसो विद्युत् आयात बढाउने, अर्धजलाशय र जलाशययुक्त आयोजना राति मात्रै सञ्चालन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार ११:५२:oo
  • दिउँसोको माग करिब १५ सय मेगावाट धान्न आठ सय मेगावाट उत्पादन र भारतबाट करिब सात सय मेगावाट विद्युत् आयात गरिँदै
  • राति अर्धजलाशय र जलाशययुक्त आयोजनाबाट हजार मेगावाट उत्पादन गरिने

भारतले रातिको समयमा विद्युत् नदिएपछि नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशय तथा जलाशययुक्त परियोजनालाई साँझ र रातिको समयमा मात्रै चलाउने रणनीति लिएको छ । यसअघि त्यस्तो परियोजना दिउँसो पनि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । पूर्वस्वीकृतिअनुसार भारतले आइतबारदेखि नेपाललाई रातिको समयमा विद्युत् दिन छाडेको छ । तर, बिहान ६ देखि साँझ ६ बजेसम्म भने विद्युत् आयात हुन्छ । सोही कारण प्राधिकरणले दिउँसो नेपालका अर्धजलाशय तथा जलाशययुक्त परियोजनालाई बन्द गर्ने र भारतबाट अधिकतम विद्युत् आयात गरेर आपूर्ति गर्न थालेको छ । दिउँसो त्यस्ता परियोजनाको बाँधमा जम्मा भएको पानीबाट साँझ पिकआवर र राति विद्युत् उत्पादन गर्ने अभ्यास प्राधिकरणले सुरु गरेको छ । 

सोहीअनुसार प्राधिकरणले आइतबार र सोमबार दिउँसो भारतबाट सात सय–सात सय मेगावाट विद्युत् आयात गरेको छ । सामान्यतः दिउँसो १४–१५ सय मेगावाट विद्युत् आवश्यक पर्छ । त्यसमा सात सय मेगावाट आयात गरिएको छ । नदी प्रवाहमा आधारितलगायतका जलविद्युत् परियोजनाबाट भने दिउँसो आठ सय मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुने गरेको छ । जलाशय र अर्धजलाशय परियोजनालाई भने दिउँसो बन्द गरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । ‘दिउँसो नदी प्रवाहमा आधारित परियोजना सञ्चालन गरिएको छ, त्यसबाट आठ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । साथै, भारतबाट अधिकतम मात्रामा विद्युत् आयात गरिएको छ । त्यसले दिउँसोको माग धान्न पुगेको छ,’ उनले भने, ‘जलाशय र अर्धजलाशययुक्त परियोजना भने दिउँसो बन्द गरेर पानी जम्मा गरिएको छ । दिउँसो जम्मा भएको पानीबाट साँझ पिकआवरमा पूर्ण क्षमतामै विद्युत् उत्पादन गरिएको छ । आवश्यकताका आधारमा रातिको समयमा पनि जलाशय र अर्धजलाशय परियोजना सञ्चालन गरिएको छ ।’ 

४५६ मेगावाटको माथिल्लो तामाकोशी, एक सय ४४ मेगावाटको कालीगण्डकी, ७०–७० मेगावाटको मध्य मर्स्याङ्दी र मर्स्याङ्दी, १०६ मेगावाटको कुलेखानी जलाशय दिउँसो बन्द गरिएको छ । त्यसमध्ये माथिल्लो तामाकोशी, कालीगण्डकी, मध्य मर्स्याङ्दी र मर्स्याङ्दीबाट पिकआवरमा पूर्ण क्षमतामै विद्युत् उत्पादन हुने गरेको छ । यसैगरी, कुलेखानीलाई भने रातभर नै पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । 

४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको तल्लो सान्जेन, २२ मेगावाटको चिलिमे जलविद्युत् परियोजना पनि दिउँसो बन्द गरेर साँझ र राति सञ्चालन गर्ने गरिएको छ । यी परियोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन नभए पनि ६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने गरेको छ । यीबाहेकका अन्य परियोजनाबाट २४ घण्टा नै आठ सय मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुने गरेको छ । 

प्रवक्ता चन्दनकुमार घोषका अनुसार साँझ पिकआवरमा १६ सय मेगावाटसम्म विद्युत् उत्पादन हुने गरेको छ । रातिको समयमा पनि विद्युत् उत्पादन एक हजार मेगावाट हाराहारीमा हुने उनको भनाइ छ । 

अहिले नेपालमा विद्युत्को जडित क्षमता झन्डै ३५ सय मेगावाट छ । तर, अधिकांश जलविद्युत् परियोजना नदी प्रवाहमा आधारित हुँदा बर्खामा पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन्छ, जुन वेला भारतमा विद्युत् निर्यात गर्न पुग्छ । पछिल्लोपटक बंगलादेशमा समेत विद्युत् निर्यात भएको थियो । तर, हिउँदमा खोलामा पानी कम भएसँगै विद्युत् उत्पादन घट्छ । जुन वेला आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । तर, अहिले रातिको समयमा भारतले विद्युत् आयात गर्न नदिएपछि विद्युत् व्यवस्थापन चुनौतीपूर्ण भएको छ । आगामी जेठदेखि भने निर्यात नै गर्न पुग्ने गरी विद्युत् उत्पादन हुनेछ । 

भारतबाट विद्युत् नपाएपछि विद्युत् आपूर्तिमा ठुलो समस्या नदेखिएको प्राधिकरणको भनाइ छ । गार्हस्थ वर्गमा विद्युत् आपूर्तिको समस्या नै नभएको प्रवक्ता घोषले बताए । तर, कतिपय औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपरेको उनको भनाइ छ । ‘दिउँसो सबै ग्राहकले विद्युत् पाएका छन् । पिकआवरमा उद्योगमा विद्युत् कटौती कायमै छ । रातिको समयमा पनि उद्योगले विद्युत् पाएका छन् । तर, नपुगेको अवस्थामा केही ठुला उद्योगमा राति पनि विद्युत् कटौती गरिएको छ,’ उनले भने । 

पिइसीअन्तर्गत भारतले दिएन विद्युत् 
नयाँ समझदारीमा नेपालमा आन्तरिक द्वन्द्व देखिएपछि भारतले पावर एक्सजेन्ज कमिटी (पिइसी)को पुरानो सम्झौताअन्तर्गत पनि विद्युत् दिन छाडेको छ । ३० माघमा भएको समझदारीलाई लिएर सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । त्यसमा १.५ प्रतिशतले मूल्य बढाएर समझदारी गरिएको थियो । जुन प्राधिकरणको बोर्ड बैठकबाट पारित गरी विद्युत् नियमन आयोगबाट अनुमोदन गरेपछि लागू हुनेछ । नयाँ समझदारी आगामी अप्रिल १ तारिखबाट लागू हुन्छ । तर, सरकारले उक्त समझदारी गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेको छ । त्यो अवस्थामा प्राधिकरणले पिइसीको पुरानै समझदारीअनुसार विद्युत् उपलब्ध गराउन भारतको बिहार र उत्तर प्रदेशलाई प्रस्ताव गरेको थियो । तर, त्यसमा उनीहरूले अस्वीकार गरेको प्राधिकरणका एक स्रोतले बताए । 

‘यसको म्याद पनि गत मार्च १५ सम्म थियो । तर, त्यसको अवधि बढाउन मिल्ने थियो । विगतमा पनि यस्तो अवधि बढाएको अभ्यास छ । यसपालि पनि त्यसको अवधि बढाएर विद्युत् दिन प्रस्ताव गरेका थियौँ । तर, त्यो प्रस्ताव स्वीकृत भएन,’ स्रोतले भन्यो, ‘नयाँ समझदारीको विषयमा कार्यकारी निर्देशकज्यूलाई स्पष्टीकरण सोधिएको छ । यो विषयमा उनीहरू पनि  पक्कै जानकार छन् । त्यसैले विद्युत् दिएनन् जस्तो लाग्छ ।’ यसअघि ११ मार्च २०२४ मा पिइसीको बैठकमा भारतीय आव ०२४/२५ का लागि नेपालले विद्युत् खरिद समझदारी गरेको थियो ।