मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ महिनामा बीस गैँडा मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १३:o२:oo

चालू आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यसआसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार चालू आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरू प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

मगरका अनुसार आर्थिक वर्ष ०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्युदर घट्दै आएको छ । आव ०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए । त्यसपछिका वर्षहरूमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको संख्या ७५२ रहेको छ । एकसिँगे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्यांक छ । चालू आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम रहे पनि स्थगन भएको छ । रासस