
पर्यटनको सिजन सुरु भएसँगै निजी विमान कम्पनीहरूले रामेछापको विमानस्थलबाट सोलुको लुक्ला उडान आइतबारदेखि भर्न थालेका छन्।रामेछाप विमानस्थलबाट सीता, तारा र समिट एयरले उडान भर्न थालेका हुन्। राजधानी काठमाडौं विमानस्थलमा चाप धेरै भएपछि पर्यटकीय सिजनमा रामेछापको विमानस्थलबाट सोलुको लुक्लातर्फको उडान हुँदै आएको छ ।
राजधानीबाट सोलुको सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकहरू स्थलमार्ग (बिपी राजमार्ग) हुँदै सवारीसाधन प्रयोग गरेर रामेछापको सदरमुकाम मन्थलीसम्म आउने गरेका छन् । रामेछाप विमानस्थलबाट अन्य कुनै पनि स्थानमा उडान नहुने भएकाले निजी विमानलाई उडानमा सहजता भएको छ । विमानस्थलबाट दैनिक सरदर ४५ देखि ६० उडान सोलुको लुक्ला भर्दै आएका छन्। मौसम खराबी हुँदा उडान नभएमा पर्यटकहरू स्थलमार्ग हुँदै सवारीसाधनमार्फत लुक्ला जाने गरेका छन् ।
आइतबार मौसम सहज भएर उडान भरेका विमानहरूले ९७ जना यात्रुहरूलाई सेवा दिएका थिए । सोमबार भने लुक्लामा मौसम खराबी हुँदा उडान भर्न सकेनन् । रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान भरेको तारा एयर र समिट एयरका दुई जहाज हवाई रुटमा हावाको कारण लुक्लातर्फको उडान स्थगन गरी रामेछापतर्फ नै फर्काइएको रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी प्रज्ज्वल गुरागाईंले जानकारी दिए।
सोमबार दिनभर जहाजले उडान भर्न नसकेपछि हेलिकाेप्टर चार्टर गरी पर्यटकहरू लुक्ला गएका थिए । दिनभर २२ उडान भरेका हेलिकाेप्टरले १०८ जना यात्रुु ओसारेको भए तापनि अन्य पर्यटकहरू गाडी रिजर्भ गरी लुक्लातर्फ गएका छन् । सगरमाथाको आधार शिविरतर्फ जाने पर्यटकहरूलाई राजधानीबाट विभिन्न निजी विमान कम्पनी र ट्राभल कम्पनीहरूले गाडीमार्फत रामेछाप विमानस्थलसम्म ल्याउने गरेका छन् ।
काठमाडौं विमानस्थलमा उडान र अवतरणका लागि धेरै समय पालो पर्खनुपर्ने भएकाले धेरै उडान गर्नुपर्ने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालिएको केही वर्ष भएको छ । लुक्लाका लागि मारामार उडान गरे पनि निजी वायुसेवा कम्पनीहरूले जिल्लावासीको मागबमोजिम रामेछाप–काठमाडौं–रामेछापको सेवा भने दिन अटेर गर्दै आएका छन् । डलरमा यात्रु बोक्ने हवाई कम्पनीहरूले नेपाली पैसामा यात्रु पाए पनि उडान नगर्दा रामेछापका नागरिकहरूले आफ्नै जिल्लामा विमानस्थल भएर पनि हवाई सेवा पाउन सकेका छैनन् ।