
उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ कल्याणचोकमा विद्युत् सर्ट भई आगलागी हुँदा एक करोड २२ लाखबराबरको क्षति भएको छ । मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका– ७ स्थित कल्याणचोक बस्ने शरणकुमार राईको घरमा विद्युत् सर्ट हुँदा आगलागी सुरु भएको हो ।
आगलागीबाट तीन घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति भएको छ । आगलागीबाट एक करोड २२ लाखबराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सन्तोष कार्कीका अनुसार स्थानीय ३४ वर्षीय कीर्तिमान राईको हातमा आगोले पोल्दा घाइते भएका छन् । राईको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
आगलागीले शरण राईको घर, भाडामा बस्ने संगीता राईको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर, महत्त्वपूर्ण कागजपत्रलगायत सामग्री जल्दा ३० लाखको क्षति भएको छ । यसैगरी, सर्वधन राईको घर जल्दा अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर गरी ५० लाखको क्षति भएको छ ।
कालुमान राईको घर जल्दा ३५ लाखको क्षति भएको छ । घरभित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर, महत्त्वपूर्ण कागजपत्रलगायत सबै जलेको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।
स्थानीय रविन्द्र राईको तीनतले पक्की घरमा आगोले क्षति पुर्याउँदा दुई लाखबराबरको क्षति भएको छ । अम्मरबहादुर राईको पनि तीनतले पक्की घरमा क्षति पुगेको छ । यस्तै, विजय राई र कुमार राईको घरमा पनि क्षति पुगेको छ ।
दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । मंगलबार नै त्रियुगा नगरपालिका– ४ फर्सेट जंगलमा र बेलका नगरपालिका– ५ स्थित जलदेवी सामुदायिक वनमा समेत आगलागी भएको थियो । त्यहाँ पनि प्रहरी र स्थानीयकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।