
सत्ताधारी कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कञ्चनपुरका तीन क्याम्पसमा प्यानलै जितेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका तीन क्याम्पसमा नेविसंघले सिंगो प्यानल जितेको हो।
नेविसंघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले बेलडाँडीको रौलेश्वर आदर्श जनता बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस र दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पसमा प्यानल नै विजयी भएको बताए । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका मोहन जैसीले अनेरास्ववियुकी सविना खत्रीलाई ३२ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन् । जैसीले ६२, खत्रीले ३० मत ल्याएका छन् । यस्तै, सचिवमा नेविसंघकै विनिता साउद, कोषाध्यक्ष शर्मिला जोशी, सदस्य नरेन्द्र उपाध्याय, धनु उपाध्याय, निर्वाचित भएका छन् । रौलेश्वरमा १२१ मतदातामध्ये ९४ मत खसेकाे थियाे।
जनता बहुमुखी क्याम्पस पुनर्वासमा नेविसंघका विकास खड्का अनेरास्ववियुका प्रवीण भुललाई पाँच मत अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन् । खड्काले ४५, अनेरास्ववियुका भुलले ४० र अखिल क्रान्तिकारीका मनोज साउदले ३२ मत ल्याएका छन् ।
सचिवमा एकेन्द्रसिंह ठकुरी, कोषाध्यक्ष जानकीकुमारी उपाध्याय, सदस्य पूजा विष्ट, सरिता ऐडी र करुणा लुहागन निर्वाचित भएका छन् । जनतामा कुल मतदाता १२८ मध्ये १२० मत खसेको थियो।
भानु बहुमुखी क्याम्पसमा नेविसंघका सुभास नेगीले अनेरास्ववियुका दशरथ भट्टलाई ३० मत अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन् । नेगीले ५० र भट्टले २४ मत प्राप्त गरेका छन् । यस्तै, नेविसंघकै सचिवमा पूजाकुमारी साउद, कोषाध्यक्ष वर्षा बुढाक्षेत्री र सदस्यमा सेजन शर्मा, प्रीतम जोशी र कविता पुजारा निर्वाचित भएका छन् । भानुमा १०८ मध्ये ९६ मत खसेको थियो । भानु बहुमुखी क्याम्पसमा पहिलोपटक निर्वाचन भएको हो । भानु बहुमुखी क्याम्पस स्थापना भएको १७औँ वर्षमा स्ववियु निर्वाचन भएको हो । भानु बहुमुखी क्याम्पसका अध्यक्ष भरतदत्त भट्टले ऐतिहासिक निर्वाचन भएको, अब विद्यार्थी, समितिदेखि शिक्षक, कर्मचारी मिलेर क्याम्पसको वृत्ति विकासमा जोड दिने बताए । बेलौरीको महाकाली र कृष्णपुरको जनता बहुमुखी क्याम्पसमा मत गणना जारी छ ।
त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञानसहितका केही क्याम्पसमा विवादका कारण निर्धारित समयमा निर्वाचन हुन सकेको छैन ।