मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
न्युयोर्क
२o८१ चैत ५ मंगलबार १o:२४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अन्तरिक्षमा फसेका सुनीता र विल्मोर नौ महिनापछि फर्किँदै

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:२४:oo

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई स्पेसएक्स यानमा पृथ्वीमा फर्काइनेछ । उनीहरूलाई लिन आइतबार बिहान अन्तरिक्षमा अमेरिकी अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएका थिए ।

उनी सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्षयानको पहिलो परीक्षण यात्राका क्रममा यानमा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए । सोही कारण उनीहरू नौ महिनादेखि अन्तरिक्षमा फसेका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अन्तरिक्षयात्रीको फ्लोरिडा तटमा अवतरण हुने अनुमान गरिएको समुद्री अवतरणलाई मंगलबार साँझ ५ः५७ मा सारिएको जनाएको छ । यसअघि नासाले यो फिर्तायात्रा बुधबारभन्दा पहिले नै हुने तय भएको बताएको थियो ।

नासाका अन्तरिक्षयात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ पनि ड्रागन क्याप्सुलमा फर्कनेछन् । विल्मोर र विलियम्सकोे बसाइ लगभग ६ महिनाको अन्तरिक्षयात्रीहरूको लागि मानक आइएसएस रोटेसनभन्दा धेरै लामो बनेको छ । तर, यो सन् २०२३ मा नासाका अन्तरिक्षयात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्षयात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा निकै छोटो हो ।