१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी ओली जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर सौजन्य :  प्रधानमन्त्रीको सचिवालय/रासस
२o८१ असोज ६ आइतबार o६:१२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेटवार्ता तय

नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे भेट्ने कार्यतालिका, ओली प्रधानमन्त्री बनेपछि मोदीसँग पहिलो भेट हुँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o६:१२:oo

भुटान, बंगलादेश, पाकिस्तान, कतार, कुवेत, लाओस र फिनल्याण्डका सरकार प्रमुखसँग समेत प्रधानमन्त्री ओलीको भेट हुने, मानवअधिकार उच्चायुक्त, एमसिसीका सिइओ र युएसएडका प्रशासकले पनि भेट्ने

संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता तय भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) द्विपक्षीय भेट तय भएको हो । भारतबाहेक दक्षिण एसियाका बंगलादेश र पाकिस्तानका सरकार प्रमुखसँग समेत प्रधानमन्त्री ओलीको भेटवार्ता तय भएको छ । 

भारतीय प्रधानमन्त्री मोदी बस्ने होटेल लोटे न्युयोर्क प्यालेसमा दुई प्रधानमन्त्रीबिच भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार गरेको कार्यक्रम पुस्तिकाअनुसार ओली–मोदी भेट आधा घण्टाका लागि (स्थानीय समयअनुसार ५ः३० देखि आधा घण्टा) तय भएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलोपटक भेट हुन लागेको हो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिइसकेका छन् । दुई देशबिचका सबै विषयमा छलफल गर्ने नेपालको तयारी छ । 

मोदीसँग भेट्नुअघि स्थानीय समयअनुसार आइतबार प्रधानमन्त्रीसँग विभिन्न देशका प्रतिनिधिको भेट हुनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले राष्ट्रसंघीय सचिवालयमा भेटवार्ता गर्नेछन् । नयाँ पत्रिकालाई प्राप्त विस्तृत कार्यक्रम तालिकाअनुसार प्रधानमन्त्री ओली आइतबारै समिट अफ द फ्युचरको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । उनले पहिलो अन्तत्र्रिmया कार्यक्रमको सहअध्यक्षता गर्नेछन् । त्यसपछि उनले महासभाको हलमा समिट अफ द फ्युचरलाई सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार शेख सबाह अलबिच पनि राष्ट्रसंघीय नियोग कुवेतको कार्यालयमा आइतबार नै भेट हुनेछ । सोही दिन भुटानका प्रधानमन्त्री तोब्गेले राष्ट्रसंघीय स्थायी नियोग नेपालको कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री ओलीको विदेशी सरकार प्रमुखहरूसँग पहिलो भेट भुटानी प्रधानमन्त्री तोब्गेसँग हुनेछ । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ताका विषयमा चासो दोहोर्‍याउनेछन् । 

महासभामा जाने क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाका भारत, भुटान, पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । श्रीलंकामा भर्खरै निर्वाचन सम्पन्न भएको र सरकार प्रमुखको स्तरमा सहभागिता नहुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग प्रधानमन्त्रीको भेट २६ सेप्टेम्बरमा हुनेछ भने २५ सेप्टेम्बरमा प्रधानमन्त्री ओलीले बंगलादेशका अन्तरिम सरकार प्रमुख (प्रमुख सल्लाहकार) मोहम्मद युनुससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजुसँगको भेटबारे परराष्ट्रको कार्यतालिकामा उल्लेख छैन । 

प्रधानमन्त्री ओलीले सामोआका प्रधानमन्त्री फियम नाओजी माटा आफासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले २६ सेप्टेम्बरमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले लाओसका प्रधानमन्त्री सोनेक्से सिफान्डोनसँग पनि भेटवार्ता गर्ने तय भएको छ । त्यस्तै, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टाब, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्क, युएसएआइडीका प्रशासक सामन्थ पावर, एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले पनि शिष्टाचार भेट गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार १० असोज)मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी र पत्नी राधिका शाक्य ९ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । त्यसअघि उनले सोमबार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । उनले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले महासभालगायत मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको संक्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दा राख्ने कार्यक्रम छ । उनले लोकतन्त्रप्रति विश्वमाझ प्रतिबद्धता दोहोर्‍याउने र छिमेकीसँगको सम्बन्धबारे नेपालको धारणा पनि सार्वजनिक गर्नेछन् ।
प्रधानमन्त्री ओली ११ असोज बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी बोस्टनबाटै स्वदेश फर्किनेछन् । 

सार्कको अनौपचारिक बैठक नहुने
यसपटक सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक नहुने भएको छ । परराष्ट्रमन्त्री राणाले २६ सेप्टेम्बरमा सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकका लागि निमन्त्रणा दिए पनि सदस्य मुलुकबाट यकिन जवाफ आएन । स्रोतका अनुसार भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटानलाई पत्र गएको थियो । तालिवान सरकारलाई मान्यता नदिएका कारण त्यहाँका परराष्ट्रमन्त्रीलाई नेपालले चिठी पठाएन । ‘सदस्य मुलुकहरूबाट यकिन जवाफ नआएपछि सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक नहुने भयो,’ परराष्ट्र अधिकारीले भने ।