१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज ८ मंगलबार o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल

मोदीलाई नेपाल भ्रमणको निम्तो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार o६:१५:oo

संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्वाड सम्मेलनमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) भएको भेटमा सम्बन्धको सबै पक्षमा छलफल भएको दुवै प्रधानमन्त्रीले जनाएका छन् । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षीसँग उनको यो पहिलो भेटवार्ता हो । 

भेटबारे प्रधानमन्त्री ओली र मोदी दुवैले ट्विट गरेका छन् । ओलीले प्रधानमन्त्री ‘श्री मोदीजी’ भनेका छन् भने मोदीले प्रधानमन्त्री ‘ओली’ उल्लेख गरेका छन् । ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग फलदायी भेटवार्ता रह्यो । भेटवार्तामा द्विपक्षीय सम्बन्धका अनेकौँ विषयमा छलफल भए,’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबिचको समबन्धलाई गति दिन चाहेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युयोर्कमा भएको भेटघाट निकै राम्रो रह्यो । भारत–नेपाल मित्रता अत्यन्तै बलियो छ र हामी हाम्रो सम्बन्धलाई गति दिन चाहन्छौँ । हाम्रो छलफल ऊर्जा, प्रविधि र व्यापारजस्ता विषयहरूमा केन्द्रित रह्यो,’ मोदीले ट्विटमा भनेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी बसेको होटेल लोटे न्युयोर्क प्यालेसमा भेट आधा घण्टाका लागि तय भए पनि करिब ४५ मिनेटसम्म चलेको थियो । ‘दुवै प्रधानमन्त्री सहज रूपमा प्रस्तुत हुनुहुन्थ्यो र हार्दिकतापूर्वक कुराकानी भयो,’ भेटमा सहभागी एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भेटमा धेरै विषय प्रवेशभन्दा पनि औपचारिकतामा बढी केन्द्रित रह्यो ।’ 

विशेष गरी ऊर्जा, प्रविधि र व्यापारका विषयमा दुई प्रधानमन्त्रीबिच छलफल भएको सम्बद्ध अधिकारीले जनाएका छन् । भेटपछि न्युयोर्कस्थित नेपाली नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई प्रधानमन्त्रीले दुई देशबिच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई प्रधानमन्त्रीले नेपाल र भारतबिचको विशिष्ट र गहिरो द्विपक्षीय सम्बन्धको समीक्षा गरेको उल्लेख छ । ‘विकास साझेदारी, जलविद्युत्मा सहकार्य, जनताबिचको सम्बन्ध तथा भौतिक, डिजिटल र ऊर्जा कनेक्टिभिटी विस्तारलगायत विविध क्षेत्रमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो ।’ 

भारतीय प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) मा नेपाल १०१औँ सदस्य राष्ट्र भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । मोदीले जलवायु परिवर्तनले निम्त्याएको चुनौती सामना गर्न क्षेत्रीय सहकार्यमा जोड दिएका थिए । 

प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दोहोर्‍याएका छन् । मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने कूटनीतिक जवाफ दिएका छन् । 

भेटमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा सहभागी थिए । मोदीसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकर, विदेशसचिव विक्रम मिश्रीलगायत सहभागी थिए । 

कुवेतका राजकुमार र भुटानी प्रधानमन्त्रीसँग बेग्लै भेट

प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग राष्ट्रसंघीय नियोग कुवेतको कार्यालयमा भेट गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध र त्यहाँ रहेका नेपाली श्रमिकको हकहितबारे छलफल भएको थियो । 

त्यसैगरी, प्रधानमन्त्री ओलीले सोमबार मोदीसँगको भेटअघि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटेका थिए । नेपाली राष्ट्रसंघीय स्थायी नियोग कार्यालयमा भएको भेटमा भुटानी शरणार्थी समस्या तथा दुई देशबिचको सम्बन्धका अन्य आयामबारे छलफल भएको कूटनीतिक स्रोतले बताएका छन् । भेटमा भुटानी प्रधानमन्त्री तोब्गेको साथमा नेपाली मूलका भुटानी विदेशमन्त्री डिएन ढुंगेल पनि सहभागी थिए । 

त्यसअघि, प्रधानमन्त्रीले स्थानीय समयअनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग राष्ट्रसंघीय सचिवालयमा भेटवार्ता गरेका थिए । उनी समिट अफ द फ्युचरको उद्घाटन समारोहमा सहभागी भए, जहाँ उनले पहिलो अन्तत्र्रिmया कार्यक्रमको सहअध्यक्षता गरे भने समिट अफ द फ्युचरलाई सम्बोधनसमेत गरे । 

बंगलादेश र पाकिस्तानका सरकारप्रमुखसँग पनि भेट्ने
प्रधानमन्त्री ओलीको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँगको र बंगलादेशका अन्तरिम सरकार प्रमुख (प्रमुख सल्लाहकार) मोहम्मद युनुससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् यसबाहेक ओलीको सामोआका प्रधानमन्त्री फियम नाओजी माटा आफासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले २६ सेप्टेम्बरमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले लाओसका प्रधानमन्त्री सोनेक्से सिफान्डोनसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टाब, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्क, युएसएआइडीका प्रशासक सामन्थ पावर, एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले पनि शिष्टाचार भेट गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार असोज १०)मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी र पत्नी राधिका शाक्य ९ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । त्यसअघि प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको संक्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दा राख्ने कार्यक्रम छ । उनले लोकतन्त्रप्रति विश्वमाझ प्रतिबद्धता दोहोर्‍याउने र छिमेकीसँगको सम्बन्धबारे नेपालको धारणा पनि सार्वजनिक गर्नेछन् ।

परराष्ट्रमन्त्री राणाको बेग्लै भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । उनले इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय वार्ता गरेकी छिन् । त्यस अवसरमा नेपाल र इन्डोनेसियाबिच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्टबाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा र इन्डोनेसियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री राणा र बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिभरोबिचको भेटवार्तामा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । दुवै देश भू–परिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर काम गर्नुपर्नेमा दुवैको जोड थियो । परराष्ट्रमन्त्री डा. राणाले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धीमन्त्री भिल्ली ताभिओसँग पनि भेटवार्ता गरेकी छिन् ।