१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १० बिहीबार
  • Tuesday, 01 October, 2024
प्रधानमन्त्री केपी ओली सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफासँग भेटवार्ता गर्दै ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १० बिहीबार o८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटवार्तामा

प्रधानमन्त्री ओलीले आज राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १० बिहीबार o८:o२:oo

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओलीले फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफासँग बुधबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआइडी)का प्रमुख सामन्थ पावरले शिष्टाचार भेट गरेको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । 

यस्तै, न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् । दक्षिण कोरियाका विदेशमन्त्री चो ताययुलसँगको द्विपक्षीय भेटवार्तामा दुई देशबिचको मित्रता, पारस्पारिक सम्मान र समझदारीमा आधारित सम्बन्धका साथै अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । यस वर्ष दुवै देशले मनाइरहेको नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवबारे पनि छलफल भएको छ । 

पछिल्लो समय इपिएस प्रणालीमार्फत नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद दिइन् । उनले कोरियालाई नेपालमा थप लगानीका लागि आग्रह गरेकी छिन् । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब १२ अर्ब लगानी आएको थियो ।

फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग वार्ताका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको छ । नेपालले राष्ट्रसंघको मानव अधिकार परिषद्, सुरक्षा परिषद्लगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि राणाले आग्रह गरेकी थिइन् ।