
सात महिनामा वस्तु आयात १०.०९ प्रतिशतको दोहोरो अंकका दरले बढेको छ । चालू आर्थिक वर्षको माघसम्म नौ खर्ब ८८ अर्ब ५८ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोडको आयात भएको थियो । अर्थात् आयातमा ९० अर्ब ६४ करोडको (१०.०९ प्रतिशत) वृद्धि भएको छ । गत पुससम्ममा आयातको वृद्धिदर ७.०६ प्रतिशत थियो । समीक्षा अवधिमा सबैभन्दा बढी ६६ अर्ब ४८ करोडको डिजेल आयात भएको छ । यो कुल आयातको ७ प्रतिशत हो । ३८ अर्ब २९ लाखको कच्चा भटमासको तेल, ३७ अर्ब ६४ लाखको पेट्रोल र ३५ अर्ब ४७ करोडको खाना पकाउने ग्यास आयात भएको छ । कच्चा सूर्यमुखी तेल १७ अर्ब १३ करोडको आयात भएको छ ।
कुल निर्यातमा तेलको अंश २५ प्रतिशत
चालू आव ०८१/८२ को सात महिनामा नेपालबाट निर्यात हुने वस्तु ४६.५ (४० अर्ब ३७ करोड)ले बढेको छ । साउनदेखि माघसम्म एक खर्ब २७ अर्ब २० करोडको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा ८६ अर्ब ७३ करोडको मात्रै निर्यात भएको थियो । समीक्षा अवधिमा सर्वाधिक निर्यात हुनेमा वस्तुमा प्रशोधित भटमासको तेल परेको छ । सात महिनामा ३२ अर्ब ४१ करोडको प्रशोधित तेल निर्यात भएको छ ।
कुल निर्यातमा भटमासको तेलको अंश २५.४८ प्रतिशत छ । दोस्रोमा ६ अर्ब ५७ करोडको सूर्यमुखी तेल निर्यात भएको छ । त्यस्तै, ६ अर्ब ४६ करोडको अलैँची र पाँच अर्ब ३९ करोडको चिया निर्यात भएको छ । आयातको तुलनामा निर्यात कमजोर हुँदा व्यापारघाटा ६.२ प्रतिशतले बढेको छ । गत आवको सात महिनामा आठ खर्ब ११ अर्ब रहेकोमा चालू आवको सोही अवधिमा आठ खर्ब ६१ अर्ब व्यापारघाटा पुगेको छ । कुल वैदेशिक व्यापारमा १३.३ प्रतिशतले वृद्धि भएर ११ खर्ब १५ अर्ब कायम छ ।
वीरगन्जबाट मात्रै साढे तीन खर्बको आयात
सात महिनामा वीरगन्जबाट तीन खर्ब ३४ अर्बको वस्तु आयात भएको छ । त्यस्तै, यो भन्सार कार्यालयबाट ४० अर्ब ३४ करोडको वस्तु निर्यात भएको छ । सर्वाधिक आयात गर्नेमा दोस्रो भैरहवाबाट एक खर्ब ४४ अर्बको वस्तु आयात भएको छ । नौ अर्ब ६५ करोडको वस्तु निर्यात यो नाकाबाट भएको छ । सर्वाधिक वस्तु निर्यात गर्ने दोस्रो नाका विराटनगरबाट ३० अर्ब ८३ करोडको वस्तु निर्यात भएको छ ।
भारतबाट पाँच खर्ब ९६ अर्बको वस्तु आयात
छिमेकी मुलुक भारतबाट पाँच खर्ब ९६ अर्बको वस्तु आयात भएको छ । भारततर्फ नेपालले ९८ अर्बको वस्तु निर्यात गरेको छ । भारतसँग नेपालको व्यापारघाटा चार खर्ब ९८ अर्ब छ । अर्काे छिमेकी मुलुक चीनबाट एक खर्ब ९२ अर्बको वस्तु आयात हुँदा निर्यात भने दुई अर्ब एक करोड मात्रै छ । सबैभन्दा बढी निर्यात हुनेमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकामा १० अर्ब दुई करोडको वस्तु निर्यात भएको छ । यद्यपि, अमेरिकाबाट १४ अर्ब ५८ करोडको वस्तु आयात हुँदा यो देशसँगको व्यापारघाटा चार अर्ब ५५ करोड छ ।