
मदन भण्डारी लोकमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति भएको दुर्घटनामा बाराको गढी गाउँपालिका– ४ का वर्ष ७० का सीताराम धामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै २५–३० जना जन्ती बोकेर आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्वरको बस र विपरीत दिशाबाट तेजपत्ता बोकी कटारीतर्फ जाँदै गरेको ना.८ख २४०४ नम्बरको मिनी ट्रक एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
ट्रकमा चालक र सहचालक गरी दुईजना सवार रहेका थिए । दुर्घटनमा घाइते भएका सबैलाई जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याइएको थियो । घाइतेमध्ये धामीको जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।
उक्त दुर्घटनामा जम्मा २६ जना घाइते भएकोमा २० जना जिल्ला अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भएको, दुईजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र तीनजना न्युरो अस्पताल विराटनगर उपचारको लागि पठाइएको छ ।