
आयोजक नेपाल र म्यानमार राउन्ड रोबिन लिगको एक खेलअघि नै फोर नेसन्स कप फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । दुवै टोलीले लगातार दुई खेलमा जित निकाली उपाधि भिडन्त पक्का पारेका हुन् । नेपाल र म्यानमारले दुई खेलबाट समान ६ अंक जोडेका छन् । गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा छ । यी दुईबिचको अन्तिम लिग खेलबाट समूह विजेताको छिनोफानो हुनेछ ।
दशरथ रंगशालामा बिहीबारको पहिलो खेलमा म्यानमारले किर्गिस्तानमाथि ५–० को जित निकाल्यो । फिनिसिङमा फेरि पनि कमजोर देखिएको नेपालले लेबनानलाई १–० ले हरायो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पनि १–० ले निराश बनाएको थियो । लगातार दुई हारसँगै किर्गिस्तान र लेबनान प्रतियोगिताबाट बाहिरिएका छन् । ११ हजार ८७३ समर्थकलाई खुसी पार्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारीले एक मात्र निर्णायक गोल गरेकी थिइन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो खेलमा फिनिसिङमा सुधार हुने बताए पनि खासै प्रगति भएन । उनले पहिलो प्लेइङ ११ मै प्रमुख स्ट्राइकर सावित्रालाई स्थान दिएका थिए, तर उनले प्राप्त अवसरको सदुपयोग गर्न सकिनन् । प्रीति राईले मिडफिल्डमा आफ्नो पकड जमाएकी थिइन् ।
लेबनानले यसपटक पनि बलियो डिफेन्स रणनीति मात्र अपनाएन, काउन्टर एट्याक्टमा दबाब सिर्जना गरेको थियो । नेपाल र लेबनानबिच एक वर्षभित्र दोस्रोपटक प्रतिस्पर्धा भएको हो । दोस्रो भेटमा लेबनानले दुईपटक बराबरी गोल अवसर गुमाएको थियो । खेलको अन्तिम इन्जुरी समयको पहिलो मिनेटमा जहवा अरबीले डिबक्सबाहिरबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । अरबीले बल प्रहार गर्दा नेपालकी कप्तान तथा गोलरक्षक अञ्जिला सुब्बा आफ्नो पोजिसनभन्दा बाहिर थिइन् ।
सावित्राको निर्णायक गोल
नेपालभन्दा ३१ स्थान तल रहेको लेबनानविरुद्धको जितमा सावित्राले निर्णायक गोल गरिन् । खेलको ४१औँ मिनेटमा नेपालले अग्रता बनाएको थियो । उनले बक्सबाहिरबाट प्रहार गरेको बल लेबनानकी डिफेन्डर फरा एलसँग ‘डिफ्लेक्ट’ हुँदै गोल भएको थियो । प्रतियोगितामा सावित्राको यो पहिलो गोल हो । प्रशिक्षक तामाङले अनुभवी स्ट्राइकर सावित्रासँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सविता रानामगरलाई स्थान दिँदा पनि नेपालले एक गोलभन्दा बढी गर्न सकेन ।
यसअघि सन् २०२४ मा भएको खेलमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रीति र सावित्रा चम्किएपछि नेपालले पहिलो भेटमा रोमाञ्चक जित निकालेको हो । खेलको ११औँ मिनेटमा विमलाले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । त्यसको दुई मिनेटपछि दुईपटक गोलरक्षकलाई बिट गरिसकेको अवस्थामा लेबनानकी लैला इस्कन्दरले गोल गर्न सकिनन् ।
फाइनलको तयारी राम्रो गर्छाैँ
राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
जित नतिजा आउँदा खुसी हुनुपर्छ । लेबनान राम्रो टिम हो । दुःख दिने टिम हो भनेर पहिल्यै भनेको थिएँ । वाफ महिला च्याम्पियनसिपमा भन्दा यो लेबनानले राम्रो खेल्यो । पाएको अवसरमा गोल गर्न सकेन । उनीहरूले राम्रो खेल खेल्दा हामीलाई गाह्रो भयो । फाइनलको तयारी राम्रोसँग गर्छौँ । कुन खेलाडीलाई अवसर दिने अभ्यासबाटै थाहा हुन्छ ।
थप गोल नहुँदा धेरै दबाब भयो
सावित्रा भण्डारी, खेलाडी, नेपाल
लेबनानले निकै दबाब दियो । पहिलो खेलमा धेरै गोल नहुँदा दर्शकलाई दोस्रो खेलमा गोलको आशा बढी थियो । एक गोल भए पनि ३ अंक आयो । ९० मिनेटमा जस्तो पनि गोल हुन्छ भन्ने थियो । विगतमा रेखा पौडेल र मेरो सँगै अभ्यास हुन्थ्यो । अहिले दुवैजना फरक देशमा लिग खेलिरहेका छौँ । अभ्यासमा पनि धेरै पछाडि जोडिँदा समस्या भएको छ ।
किर्गिस्तानको पोस्टमा पाँच गोल
सहभागी टोलीमध्ये शीर्ष वरीयता पाएको म्यानमारले किर्गिस्तानको पोस्टमा पाँच गोल गर्यो । म्यानमारले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेको थियो । प्रतिस्पर्धामा किर्गिस्तानविरुद्ध म्यानमारका युन वादी र मे हचटेटले समान दुई गोल गरेका थिए । वादीले खेलको दोस्रो र ४१ मिनेटमा गोल गरेकी थिइन् । हचटेटले खेलको ३८औँ र ४९औँ मिनेटमा गोल गरिन् ।