मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Friday, 21 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ९ शुक्रबार o७:o९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ओडिसामा प्रकृति लम्सालको नाममा छात्रवृत्ति घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o७:o९:oo

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले आइतबार मृत्युवरण गरेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको सम्झनामा बर्सेनि एकजना नेपाली विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने घोषणा गरेको छ । केआइआइटी विश्वविद्यालयका संस्थापक अच्युत सामन्तले बिहीबार छात्रवृत्ति घोषणा गरेका हुन् । केआइआइटीले छात्रवृत्ति दिने घोषणा गरेको सामाजिक सञ्जाल एक्समार्फत जनाइएको छ ।

सोमबार अपमानपूर्वक छात्रावासबाट निकालिएका र नेपाल नफर्केका थप २० जना विद्यार्थी बिहीबार विश्वविद्यालय पुगेका छन् । अहिलेसम्म १५० जना नेपाली विद्यार्थी कक्षामा सहभागी भएका छन् । ‘बिहीबार स्वर्गीय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थी एकजनालाई बर्सेनि छात्रवृत्ति दिने घोषणा भयो । कोलकाता पुगेका ११ जना र ओडिसाकै कटकमा रहेका नौजना नेपाली विद्यार्थी विश्वविद्यालय फर्केका छन्, विद्यार्थीहरू कक्षामा सामेल भएका छन्,’ भुवनेश्वरमा रहेका नेपाल प्रहरीका एसएसपी एवं नेपाली दूतावास दिल्लीका काउन्सिलर सञ्जीव शर्मा दासले नयाँ पत्रिकासँग भने । 

प्रकृतिको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति घोषणा हुनु ठुलो विषय भएको उनले बताए । ‘संस्थापक सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृतिको सदाकालको सम्झना र सम्मानमा उनको बुबाको इच्छाअनुसार हाम्रो प्रयासमा छात्रवृत्ति घोषणा गरेका छन्,’ शर्माले भने, ‘हरेक वर्ष एकजना नेपाली विद्यार्थीका लागि प्रकृति लम्सालका नाममा विशेष छात्रवृत्ति उपलब्ध हुनेछ । एकजना नेपालीले निःशुल्क पढ्ने व्यवस्था पाउनु उपलब्धि हो ।’ विश्वविद्यालयले नेपाल आएका विद्यार्थी र उनका अभिभावकका नाममा सामूहिक इमेल पठाएको छ । विश्वविद्यालय र छात्रावासमा सुरक्षाको पूर्ण प्रत्याभूति भएको, विद्यार्थी नेपाल पुगेको र फर्केको यातायात खर्च विश्वविद्यालयले उपलब्ध गराउने तथा सोमबार उनीहरूलाई निकाला गर्ने सूचना र व्यवहारप्रति क्षमायाचनासहितको इमेल पुगेको छ । 

यसैगरी बिहीबार ओमानबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीलाई निकालिएपछिको घटनाक्रम कूटनीतिक रूपमा समाधान भएको बताएकी छिन् । 

स्वर्गद्वारी घाटमा अन्त्येष्टि 
प्रकृति लम्सालको बिहीबार बिहान रुपन्देहीको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा हजुरबुबा देवनाथ लम्सालले दागबत्ती दिए । बुधबार राति नेपाल ल्याइएको उनको पार्थिव शरीरलाई भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो ।