
श्रावस्ती नगरको एक सानो गाउँमा अमरसेन नाम गरेका एक धनी व्यक्ति बस्थे । उनका चार छोरा थिए । सबैको विवाह भइसकेको थियो । सबै अलग–अलग व्यवसाय गरी बस्थे । वृद्धावस्थामा पुग्दै गर्दा अमरसेनलाई आफ्नो बचेको सम्पत्तिको उत्तराधिकारी कुन छोरालाई बनाउँदा ठिक हुन्छ भन्ने चिन्ताले सताउन थाल्यो । त्यसैले, एक दिन चारै छोरालाई पत्नीका साथमा बोलाएर उनले भने– म केही वर्षका लागि तीर्थयात्रामा जाँदै छु । म तिमीहरू सबैलाई गहुँका पाँच–पाँच दाना दिएर जाँदै छु । जसले म चार वर्षपछि फर्किंदा ती दानालाई हिफाजतसाथ फिर्ता गर्नेछ, उसैलाई म सबै सम्पत्तिको उत्तराधिकारी बनाउनेछु ।
चार वर्षसम्म जाबो पाँच दाना गहुँ कसले सम्झिबस्छ ? आखिर जेठो छोरा भएको नाताले सम्पत्ति मैले नै त पाउने हो भन्दै जेठा छोराले ती गहुँका दाना फोहोरमा फालिदिए । माहिला छोराले पिताले राम्रो मान्लान् भनेर गहुँका पाँच दानालाई पिताको आशीर्वाद ठानेर खाइदिए । साहिँला छोराले बडो हिफाजतसाथ सम्हालेर पिता फर्किएपछि बुझाउन भनी दराजको सबैभन्दा सुरक्षित स्थानमा राखे ।
कान्छा छोराबुहारीले समझदारीपूर्वक सोचविचार गरेर पाँचै दानालाई जमिनमा रोपे । त्यसबाट गहुँका पाँच बोट हुर्किए । केही गहुँ फल्यो । फेरि उनीहरूले फलेकोजति सबै गहुँ जमिनमै रोपिदिए । त्यसबाट झनै धेरै गहुँ फल्यो । हेर्दाहेर्दै गहुँका पाँच दाना पाँच, पच्चीस, पचास बोरामा परिणत भए ।
चार वर्षपछि अमरसेन तीर्थयात्राबाट फर्किए । उनले जेठा, माहिला र साहिँला छोराहरूको कहानी सुने । उनी कान्छा छोराबुहारीकहाँ पनि पुगे । कान्छा छोराले भने– बाबा, हजुरले दिएका पाँच दाना गहुँ हामीले जमिनमा रोप्यौँ । त्यसबाट फलेजति सबै गहुँ पुनः अर्कोपटक रोप्यौँ । त्यसैगरी रोप्दारोप्दै अहिले पाँच दाना ५० बोरामा परिणत भएको छ । हामीले त्यसलाई गोदाममा राखेका छौँ । त्यो सबै हजुरकै हो । कान्छा छोराबुहारीको सोच देखेर अमरसेनले तत्काल दराजका चाबी र सबै सम्पत्ति उनीहरूलाई दिँदै भने– मेरो बचेको सम्पत्तिको असली हकदार तिमीहरू नै हौ ।