
दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै सौर्य जहाज दुर्घटनाका पीडित परिवारले बुधबार २७५ सांसदलाई मोबाइल सन्देश पठाएर आन्दोलन सुरु गरेको छ।
दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले प्रधानमन्त्री र सभामुखसहित प्रतिनिधिसभाका सबै सांसदलाई ह्वाट्सएपमा सन्देश पठाएर आन्दोलन सुरु गरेका हुन्। सौर्य जहाज घटना दुर्घटना नभई जघन्य अपराध भएको आरोप लगाउँदै आएका पत्रकार खतिवडाले घटनाको सम्बन्धमा सबैजसो सरकारी निकायमा उजुरी गर्दा पनि कसैले उजुरीलाई सम्बोधन नगरेपछि सांसदलाई मोबाइल सन्देश पठाएर भद्र आन्दोलन सुरु गरेको बताए।
मोबाइल सन्देशमा सांसदहरू उदयशमशेर जबरा, मनीष झा, सोबिता गौतम र शंकर भण्डारीले फोन गरेर तथा विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, माधव सापकोटा र ज्ञानेन्द शाहीले मोबाइल म्यासेजबाटै प्रतिक्रिया दिएका खतिवडाले बताए। मोबाइल सन्देशमा प्रतिक्रिया व्यक्त गर्ने सांसदहरूले न्यायको लडाइँमा साथ दिने वचन दिएका खतिवडाको कथन छ।
मोबाइल सन्देशमा उनले प्रश्न गरेका छन्, ‘मर्मत गर्न लगिएको ३४ दिनदेखि ग्राउन्डेड, बिग्रेको जहाजमा यात्रु बोक्नु जायज हो? मर्मत गर्न लगिने जहाजमा पाँचजना भन्दा बढी बोक्न नपाउने स्पष्ट नियम कानुन छ, तर १८ जना यात्रु बोकिएको छ। गैरकानुनी उडानमा १८ जनाको अनाहकमा ज्यान जानु जायज हो?’
योग्यता नपुगेका व्यक्तिलाई राखेर सरकारले गठन गरेको अनुसन्धान आयोगको विषयमा समेत उनले प्रश्न उठाएका छन्। ‘ऊर्जा मन्त्रालयमा कार्यरत मेरी छोरी र मेरो ४ वर्षे नातिलाई समेत एयरलाइन्सको कर्मचारी बनाउनु जायज हो? कानुनले तोकेबमोजिम योग्यता नपुगेका व्यक्तिलाई राखेर सरकारले गठन गरेको अनुसन्धान आयोगलाई जायज मान्न सकिन्छ? आयोगले एयरलाइन्सको आर्थिक चलखेलमा दोषीलाई उम्काउन सरकारलाई बुझाएको नियोजित प्रतिवेदनलाई जायज मान्न सकिन्छ? नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत भूमिका शंकास्पद र गैरजिम्मेवार छ। जिम्मेवार निकायको गैरजिम्मेवार व्यवहारलाई जायज मान्न सकिन्छ?’ उनले प्रश्न गरेका छन्।
सन्देशमा पत्रकार खतिवडाले आफूले उठाएका प्रश्नहरूको विषयमा आवाज उठाइदिन सांसदहरूलाई आग्रह गरेका छन्। मोबाइल सन्देशमा उनले भनेका छन्, ‘उडान गैरकानुनी छ, यात्रु गैरकानुनी छन्, एयरलाइन्स कम्पनीको हर्कत गैरकानुनी छ। कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको छ। आयोगले एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको छ। अनि यो घटनालाई कसरी आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै हो भनेर चित्त बुझाउन सकिन्छ? त्यसैले सौर्य जहाज दुर्घटना होइन, जघन्य अपराध हो। यस घटनामा १८ जनाको नरसंहार भएको छ।’
सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा खतिवडाका छोरी, ज्वाइँ र नातिसहित १८ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल भएका थिए।