![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bp-highway2025-02-12-01-04-36.gif)
गत असोजको बाढी र पहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ । भकुन्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो ।
विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्याएको छ । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डको मर्मत भइरहेको छ । ‘बाढीले क्षति पुर्याएको १३ किलोमिटरमध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा बनाउनुपर्ने भएको छ,’ न्यौपानेले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्नेलगायतका काम गर्नुपर्नेछ, त्यो अहिले सुरु भएको हो ।’ सो सडकखण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भइसकेको उनको भनाइ छ ।
विभागकै स्राेत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानहरूबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने न्यौपानेले बताए ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो । उनले ‘अहिले हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको स्राेत–साधनको अधिकतम उपयोग गरी काम भइरहेको छ ।’ वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातिको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने बताए ।
गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुर्याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुनर्निर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायामन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन्। गत शनिबार मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुखलगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनर्निर्माणमा स्राेत अभाव हुन नदिने भन्दै मर्मत एवं पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए।
तत्काल मर्मत सुरु भए पनि धेरै स्थानमा क्षति पुगेकाले वर्षामा बिपी राजमार्ग सञ्चालनमा आउन कठिन हुने स्थानीयको चिन्ता छ ।