![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/jn-khanal2025-02-12-11-49-27.jpeg)
एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस-एमाले गठबन्धनका कारण देश संकटमा फसेको आरोप लगाएका छन् । बुधबार समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
‘देशमा अहिले संसद्को पहिलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमालेको गठबन्धन सरकार छ । सरकारले अहिले देशको लागि नयाँ नीति, कार्यक्रम केही पनि ल्याउन सकेको छैन,’ उनले भने, ‘देश अहिले राजनीतिक रूपले संकटग्रस्त छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको रूपमा संकटग्रस्त छ । देश संकटको भुमरीमा फसिरहेको छ ।’
खनालले दुई ठुला पार्टी मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा अनौठो भएको बताउँदै यसलाई आफूहरूले अपवित्र गठबन्धन भन्ने गरेको बताए । खनालले भने, ‘यो गठबन्धन सरकार देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने, समुन्नतिको मार्गमा लैजाने उद्देश्यले बनेको होइन । दुई ठुला दलकै पार्टी संकटमा परिरहेको वेला पार्टी जोगाउन बनेको गठबन्धन हो । अचानक मध्यरातमा एउटा व्यापारीको घरमा बसेर गरिएको सम्झौताअनुरूपमा यो सरकार बनेको हो । यो सरकार गठन हुँदा सातबुँदे सम्झौतामा हस्ताक्षर गर्यौँ भने । अहिलेसम्म त्यो सातबुँदे सम्झौताको कपी नेपाली जनताले देख्न पाएका छैनन् । उनीहरूले देखाउन सकेका छैनन् ।’
दुवै दलका नेताहरूको हस्ताक्षर भएको दुईदलीय गठबन्धनको सम्झौताको कपी नै देखाउन नसकेको सरकारले संसदमा दुईतिहाइ बहुमत छ भन्नुको कुनै अर्थ नभएको खनालको भनाइ छ । उनले भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दै छ । त्यसकाे के जरुरत छ ? दुईवटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भुमरीमा छ देश ? जुन अध्यादेशहरू ल्याइएका छन् । ती अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । पास हुनलाई दुईवटा सदनमा बहुमत चाहिन्छ । तर, त्यस्तो देखिँदैन । विधेयक फेल खाएपछि फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’
खनालले संविधान मिच्ने यिनै दुई पार्टी अहिले संविधान संशोधन भनेर कराइरहेको बताए । उनले भने, ‘किन संविधान संशोधन गर्नुपर्यो ? भएकै संविधान कार्यान्वयन भएको छैन । यो संविधान लागू गर्न अझै तीन दर्जन ऐन–कानुनहरू बनाउनुपर्छ । ऐन–कानुन नै बनेका छैनन् । अनि केको संविधान संशोधन ?’
नेता खनालले नेपालका कम्युनिस्ट पार्टीहरू कुर्सी र इगोका कारण फुट्ने गरेको बताए । उनले भने, ‘नेपालमा अहिले पनि कम्युनिस्टहरू नै बहुमतको नजिक छन्, तैपनि इगोको कारण फुटे । देशको हितमा अहिलेसम्म वामपन्थीहरू एक हुन सकेका छैनन् । अब एक हुने वेला आएको छ । कम्युनिस्टहरुले देशको मुद्दा छाडेको कारण फुट भएको हो । अब देशकाे मुद्दामा कम्युनिस्टहरू एक हुन जरुरी छ ।’