Skip This
एसिया कप टी–२० : आइसिसीले अस्वीकार गर्‍यो पाकिस्तानको माग 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार o८:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कप टी–२० : आइसिसीले अस्वीकार गर्‍यो पाकिस्तानको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार o८:५५:oo
  • भारतविरुद्धको खेलमा अम्पायरिङ गरेका एन्डीलाई आगामी खेलमा राख्न नहुने पाकिस्तानको मागलाई आइसिसीले मानेन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एसिया कप टी–२० का म्याच अम्पायर एन्डी पाइक्राफ्टलाई हटाउने पाकिस्तान क्रिकेट बोर्डको मागलाई अस्वीकार गरेको छ । एसिया कपअन्तर्गत आइतबार राति पाकिस्तान र भारतबिच प्रतिस्पर्धा भएको थियो । खेलमा भारतीयले पाकिस्तानका खेलाडीसँग हात मिलाएनन् । म्याच अम्पायरले खेल भावनाअनुसार भारतीय खेलाडीलाई आचार संहिता पालना नगराएको आरोप पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले लगाएको छ । पिसिबीले मंगलबारै अम्पायर एन्डीलाई आगामी खेलमा राख्न नहुने भनी आइसिसीसमक्ष अपिल गरेको थियो । 

तर, आइसिसीको कानुनी विभागले खेलाडीबिचको विवादमा म्याच अम्पायरको कुनै पनि भूमिका नरहने जनाउँदै पाकिस्तानको माग अस्वीकार गरेको जनाएको छ । ‘भारत–पाकिस्तान खेलमा खेलाडीले हात नमिलाएको विवादमा अम्पायर एन्डीको भूमिका देखिँदैन,’ पिसिबीलाई पठाएको पत्रमा आइसिसीले भनेको छ, ‘यो दुई क्रिकेट बोर्डबिचको विवाद हो । जसको प्रभाव खेलाडीमाथि परेको देखिन्छ ।’ पिसिबीले खेलका अम्पायर एन्डीले भारतकै पक्षमा रहेको दाबी गरेको छ । 

अन्तर्राष्ट्रिय नियमअनुसार जुनसुकै खेलको अन्तिम निर्णयपछि दुई पक्षका खेलाडी र अफिसियलले हात मिलाउनुपर्छ । तर, भारतका कप्तान सूर्यकुमार यादवलगायत अन्य खेलाडीले अन्तर्राष्ट्रिय खेल भावनाविपरीत काम गरेको आरोप पिसिबीले लगाएको छ । ‘हामीले टसअगाडि नै एन्डीको मनोविज्ञान थाहा पाएका थियौँ । सुरुदेखि नै उनी भारतकै पक्षमा उभिएका थिए,’ पिसिबीको भनेको छ, ‘अम्पायरको धर्म नै खेलअगाडि र पछि खेलाडीलाई हात मिलाउनु हो तर उनले यस्तो गर्न सकेनन् ।’ 

एसिसीलाई घटनाको जानकारी
आइसिसीले एसिसीका अधिकारीहरूलाई एन्डीका बारेमा जानकारी गराएको जनाएको छ । आइसिसीको कानुन विभागको पत्रले म्याच अम्पायर भारतीय टोलीको पक्षमा काम गरेको मुद्दालाई खारेज गरिएको प्रस्ट पारेको छ । यद्यपि, आइसिसीले यस सम्बन्धमा वास्तविक छानबिन गर्न एसिसीलाई आग्रह गरेकोछ । प्रतियोगिताअन्तर्गत बुधबार पाकिस्तान र युएईबिच खेल छ । यस खेलमा पनि एन्डीले अम्पारिङ गर्ने छन् । तर, पिसिबीले जिम्बाब्वेका अम्पायर एन्डीलाई नहटाइएमा टोलीले खेल नखेल्ने चेतावनी दिएको छ । विवादास्पद खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो । 

एसिया कपबाट हङकङ बाहिरियो
प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘बी’को खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा चार विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियो । श्रीलंकाको जितमा ओपनर पथुम निसांकाले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । उनले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी आठौँ क्रमका ब्याट्सम्यान वानिदु हसरंगाले ९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रनको महत्वपूर्ण योगदान दिए । कुशल परेराले १६ बलमा २० रन तथा कमिल मिश्रराले १८ बलमा १९ रन जोडे । यसअघि पहिलो ब्याटिङ गरेको हङकङका लागि अंश राठले ४६ बलमा चार चौकाको सहयोगमा ४८ रन जोडेका थिए । निजाकत खानले नटआउट ५२ रन जोडे । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।