मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १३:oo:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अछाममा गुन्जिए बद्रि पंगेनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १३:oo:oo

बाध्य भइयो परदेशमा छिर्न
मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन
अहिलेको साल पनि आमा घरमा आउँदिन ।

लोक गायक बद्री पंगेनीले साँफेबगर महोत्सवको मञ्चमा उभिएर यो गीत गाउन थालेपछि अधिकांश आमाहरु आँसु झार्दै रुन थाले । कोही उनको अंगालोमै बेरिए । महोत्सव अवलोकनमा आएका अतिथिहरु समेत भावुक बने । जब गायक पंगेनी मञ्चबाट झरेर भाव विह्वल भएका आमाहरुको छेउमै पुगे तब उनीहरु झन् भक्कानो छोडेर रुन थाले ।

पंगेनीको गीतमा यसरी भाव विह्वल हुनेहरुमा अधिकांश श्रीमान गुमाएका र छोरा विदेशमा रहेका आमाहरु थिए । जबजब पंगेनी ति आमाहरु नजिकै पुगेर गीत गाउन थाल्थे तब उनीहरुका आँखामा झन् आँसु छचल्किएको देखिन्थ्यो । पंगेनीले आमाहरुलाई मात्र भावुक बनाएनन् । सधै नाचगान र रमझन हुने महोत्सवमा उनको यो प्रस्तुतिले सानाठुला सबै उमेरका दर्शकहरुको अनुहार मलिन देखिन्थ्यो ।

यो गीत गाइसकेपछि उनले मञ्चमा बसेका नेताहरुलाई देखाउँदै भने, ‘यी आमाहरु अब कहिलेसम्म यसरी रुने ? उहाँहरुका छोरा यहीँ बस्ने गरी पहल गरिदिनुहोला ।’ उनले आमा दिदी बहिनीहरुलाई पनि छोराहरुलाई विदेशमा होइन स्वदेशमै केही गरौँ भनेर सम्झाउन आग्रह गरे । पंगेनीले दोस्रो प्रस्तुतिका रुपमा ‘कला चल्यो गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलेन’ बोलको गीत गाएपछि महोत्सवको माहोल फेरियो । त्यसपछि सबै नाच्न थाले । जातिय विभेदविरुद्धको यो गीत गाउँदै दर्शकदीर्घामा पुगेका पंगेनीलाई युवायुवतिहरुले हुटिङ गरेर समर्थन गरेको देखिन्थ्यो ।

पंगेनीले अर्को प्रस्तुतिका रुपमा जब ‘साँफेबगरमा देखेको जिवन बिताउनै लेखेको, चिना हेराउँदा...’ गाए, तब दर्शकहरुले ताली बजाएर हात हल्लाउन थाले । सबैले रमाइलो भएको संकेत गरे । अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा सम्पन्न महोत्सवमा पंगेनीले ससुरालीमा, रातो पछ्यौरीलगायतका गीत गाएर भरपुर मनोरञ्जन दिए।

उनको गीतमा युवायुवती, वृद्धवृद्धा सबै छमछमी नाच्दा महोत्सवको अन्तिम दिन निकै रमाइलो भयो । गायक पंगेनी आउने खबर सुनेपछि अछामसहित छिमेकी जिल्ला बाजुरा र डोटीका गाउँहरुबाट पनि मानिसहरु साँफेबगर आएका थिए।