![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/nirdeshan2025-02-08-02-24-37.jpeg)
आगलागीबाट क्षति भएको खानेपानी मन्त्रालयको मर्मत सम्भारको कार्य आजैबाट सुरु भएको शहरी विकास मन्त्रालयले जनाएको छ। आज शनिबार बिहान भएको आगलागीबाट मन्त्रीको कार्यकक्षसहित छानाको भाग र विद्युतीय संजालमा क्षति पुगेको बताइएको छ।
आगालागीपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेको थियो। अवलोकन पछि मन्त्री सिंहले तत्काल मर्मत सम्भार कार्य सुरु गर्न निर्देशन दिएका संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।
‘सिंहदरबार परिसरको व्यवस्थापन यस मन्त्रालयको भएको कारण उक्त मन्त्रालय पूर्ववत सञ्चालन गरी सेवा प्रवाह नियमित गर्न तत्काल मर्मत सम्भार कार्य गर्न माननीय उपप्रधानमन्त्रीज्यूबाट निर्देशन भएअनुसार यस मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैबाट मर्मत कार्य सुरु गरेको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
साथै, सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा पूर्वतयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समिति समेत गठन गरेको विज्ञप्तीमा बताइएको छ।