मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २५ शुक्रबार १५:o७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुपर माछाखोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १५:o७:oo

गोरखा जिल्लाको धार्चे गाउँपालिका– ४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ।

उक्त लगानीसम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन्। कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ।

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ। बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्।

आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुने अनुमान छ। कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल र विनोद थापासहितको समूहले आयोजना निर्माण गर्न लागेको हो।

यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। साथै कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) तत्काल जारी हुने प्रक्रियामा रहेको बताइएको छ।

१८ महिनाभित्र सञ्चालनमा ल्याउने बताइएको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग ०८० असार २१ मा विद्युत् खरिद–बिक्रीसम्बन्धी सम्झौता (पिपिए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको प्रसारणलाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सबस्टेसनमा जोडिनेछ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पब्लिक लिमिटेड गी प्राथमिक सेयर (आइपिओ)मा गई छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको जनाएको छ।