![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sibir2025-02-07-04-52-00.jpeg)
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ मा अवस्थित शिर मेमोरियल अस्पतालको सर्जिकल वार्ड बिरामीले भरिएको थियो। वार्डको सबै शय्यामा बिरामी थिए। अस्पतालका डाक्टर र नर्सहरू व्यस्त थिए। सोही वार्डको ओआर १२ नम्बर बेडमा सुतिरहेकी थिइन् ६१ वर्षीया पदमकुमारी बोहरा। त्रिपुरासुन्दरी गाउँपालिका– ६ की बोहरा शल्यक्रियाको पीडासँगै खुसी पनि थिइन्। अप्रेसनको पीडाभन्दा बढी खुसीले उनको अनुहार चम्किएको थियो। किनकि ४१ वर्ष अगाडिदेखि आङ (पाठेघर) खसेको समस्याबाट उनले छुटकारा पाएकी थिइन्।
‘आङ खसेको समस्या मेरो छोरा जन्मेको वर्षदेखि भएको हो। छोरा ०४० सालमा जन्मेको हो,’ बोहराले भनिन्, ‘कहिले चुरा राख्ने त कहिले निकाल्ने गर्दै आएकी थिएँ। त्यतिवेला साह्रै गाह्रो भएको थियो। अहिले अप्रेसन भयो खुसी लागेको छ।’
उनीजस्तै बेड नम्बर ओआर १८ मा त्रिपुरासुन्दरी गाउँपालिका– ७ तौथली गैह्रीगाउँकी ६९ वर्षीया कृष्णमाया विक थिइन्। सँगैको कुर्सीमा उनकी छोरी कुरिरहेकी थिइन्। कृष्णमायाको पनि समस्या उही थियो। उनले पनि करिब १३ वर्षदेखि पाठेघर खस्दाको समस्या झेलिरहेकी थिइन्। उनको १३ वर्षअगाडि मकैको ढोड बोक्ने वेलामा आङ खसेको थियो। समस्यालाई फालेपछि अहिले खुसी हुँदै उनले सहयोगीहरूलाई धन्यवाद दिइन्। ‘१२–१३ वर्षअघि काँचो ढोड बोक्ने वेलामा आङ खसेको थियो,’ दुई सन्तानकी आमा विकले भनिन्, ‘छोरामा अपांगता छ। श्रीमान् बुढो हुनुभयो, धेरै वर्ष समस्या झेलेरै बसेँ।’
सोही वार्डमा ७० वर्षीया सुन्दरीमाया श्रेष्ठ शल्यक्रियाको पर्खाइमा थिइन्। सात सन्तानकी आमा श्रेष्ठ शल्यक्रियाको लागि उत्साहित छिन्। सात वर्षदेखिको समस्या समाधान हुनेमा उनी विश्वस्त छिन्। अप्रेसनको डरसँगै खुसी पनि लागिरहेको उनले बताइन्।
त्यसरी नै सिन्धुपाल्चोकका १२ जनाको पाठेघर खसेको शल्यक्रिया भएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको निःशुल्क शिविरमा १८ जनाको शल्यक्रिया गर्नुपर्ने पहिचान भएको थियो। जसमा दुईजना अस्पताल आउन मानेनन् भने चारजनाको रक्तचाप उच्च भएकाले अप्रेसन भएन।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले लाजका कारण पाठेघरको समस्या सहजै भन्न नसक्ने र अन्य विविध कारण महिलाहरूले पाठेघरको समस्या झेलिरहेका बताए। त्यो समस्यलाई मध्यनजर गर्दै कार्यपालिकाले ‘उपाध्यक्ष आमा बचाऊँ कार्यक्रम’ पारित गरेर अगाडि बढेको उनको भनाइ छ।
महिलाले समस्या महिलालाई नै भन्छन् भन्ने विश्वास गरेर कार्यपालिकाले आफूलाई जिम्मा दिएको उपाध्यक्ष गीताकुमारी नेपालले बताइन्। आर्थिक वर्ष ०७९/८० देखि हरेक वर्ष शिविरमार्फत पाठेघर खस्ने समस्याको पहिचान गरी उपचार गर्दै आएको उनले बताइन्। उपाध्यक्ष नेपालका अनुसार पहिलो वर्ष ११ जना, दोस्रो वर्ष १३ जना र यस वर्ष १२ जनाको शल्यक्रिया गरिएको हो। आगामी वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ।
त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रनारायण साहका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर खसेको बिरामी १८ जना पहिचान भएको थियो। उपचारका लागि दुईजना आउन चाहेनन्। १६ जना अस्पताल आएकोमा चारजनाको सुगर र प्रेसरका कारण शल्यक्रिया हुन सकेन र १२ जनाको सफल शल्यक्रिया भएको साहले बताए। उनका अनुसार गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरमार्फत समस्याको पहिचान गरी अस्पतालसम्म बिरामीलाई निःशुल्क ल्याउने र लाने काम गर्नेछ।