![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/rajaganj2025-02-07-12-43-04.jpeg)
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने निर्माण पक्षको दाबी छ। टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक चलचित्रका मुख्य महिला पात्रको लुक्सले पनि चलचित्रको टिजरप्रति दर्शकमाझ प्रतीक्षा जगाएको थियो।
चलचित्रमा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा र नीरज श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको छ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाइसकेको छ । यो चलचित्र गत कात्तिकमा एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । चलचित्रले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गरेका छन् ।
चलचित्र आगामी चैत १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो चलचित्रलाई नेपालमा टिफल्क र ब्यांकटेस इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्नेछन्। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।