![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bipin-joshi2025-01-08-07-27-52.jpeg)
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिहीवार राति इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइको प्रयासको पहलस्वरूप फोनवार्ता भएको राणाले जानकारी दिएकी छन् ।
बिपिनको मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास जारी राखेको र यसैको निरन्तर प्रयासमा टेलिफोन वार्ता गरेको परराष्ट्रमन्त्री राणाले सामाजिक संजाल फेसबुक र एक्समा लेखेकी छन् ।
इरानी बिदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँगको आगामी बैठकमा बिपिनको रिहाइको मुद्दा उठाउने आश्वासन दिएका छन् । ‘म महामहिम अराघ्चीलाई उहाँको आश्वासन र समर्थनको लागि धन्यवाद दिन चाहन्छु’ परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।
जोशी २० असोज ०८० देखि हमास समूहको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेका पाँचजना थाई नागरिकको मुक्तिसँगै जोशी मुक्त हुने आशा नेपाल सरकारको छ । परराष्ट्रमन्त्री डा देउवाले पनि यसअघि इजरायलका समकक्षी गिडिओन सारसँग जोशी रिहाइको प्रयास गरिदिन टेलिफोनमा कुराकानी गरेकी थिइन् ।
‘जोशी जीवित छन् र उनको उद्धारको प्रयास जारी छ भन्ने सन्देश इजरायलबाट आएको हुनाले हामी आशावादी छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने । नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार जोशी २३ माघसम्म छुटिसक्ने विश्वास इजरायली कूटनीतिक च्यानलबाट प्राप्त भएको थियो । तर, यो सम्भव भएन । यद्यपि, ती अधिकारीले भने, ‘हामी प्रयासरत छौँ र आशावादी पनि छौँ ।’
प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणबाट तेस्रो समूहअन्तर्गत १७ माघमा पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त भएका थिए । इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र उसको नियन्त्रणमा रहेका ३३ जनालाई नियन्त्रणमुक्त गर्नुपर्नेछ । यसलाई पहिलो चरण भनिएको छ । यो चरणमा इजरायली नागरिक मात्रै नियन्त्रणमुक्त हुने भनिएको भए पनि बिहीबार पाँचजना थाई नागरिकसमेत मुक्त भए । त्यसमा नेपाली विपिन पनि मुक्त हुने आशा थियो ।
युद्धविराम सम्झौताअनुसार हमासले १९ जनवरीमा तीनजना, २५ जनवरीमा चारजना र बिहीबार आठजना गरी १५ जनालाई मुक्त गरिसकेको छ । १९ जनवरीदेखि लागू हुने गरी ६ साता अर्थात् फेब्रुअरीभित्र हमासले ३३ जनालाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । त्यतिन्जेल इजरायलको जेलमा रहेका करिब दुई हजार प्यालेस्टिनी नागरिक पनि मुक्त हुनेछन् ।