जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करण आजदेखि सुरु भएको छ। स्थानीय राम मन्दिर पार्कमा सुरु भएको महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका हुन्।
महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्ता गतिविधिले प्रदेशको कला संस्कृतिको विकास, प्रवर्द्धन एवं आर्थिक विकासमा टेवा पुग्ने बताए। कला, संस्कृति पहिचानसँग जोडिएका विषयमा प्रदेश सरकार सधैँ गम्भीर रहने उनले बताए।
कार्यक्रममा यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य संगीत पुरस्कार’ स्वर्गीय शास्त्रीय संगीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ। कार्यक्रममा स्व. कामतकी श्रीमती सगुनवतीदेवी कामतलाई मुख्यमन्त्री सिंह र स्व. अमित झाका बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार रुपैयाँ राशीको पुरस्कार हस्तान्तरण गरिएको थियो।
शास्त्रीय संगीतमा भारतबाट स्नातक गरी नेपाली तथा मैथिली गीत संगीतमा महत्त्वपूर्ण योगदान दिएका गुरुदेव कामतलाई प्रबल जनसेवा श्री पुरस्कारबाट पनि सम्मान गरिएको छ। कामत गत साउनमा दिवंगत भएका थिए। सो सम्मान कामतकी श्रीमतीलाई प्रदान गरिएको छ। यस्तै, क्यान्सर रोगबाट पीडित संगीतकार अशोक दत्तलाई ५१ हजार रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरिएको छ।
‘धरातल, संस्कृति र संस्कारको उत्सव’ नारा रहेको महोत्सवमा मिथिला साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई समेटेर विविध सत्रहरू सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अमितकुमार साहले बताए।
यस वर्ष महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता महत्त्वपूर्ण विषयहरूमा विभिन्न १७ वटा सत्र सञ्चालन हुने उनले बताए।