वास्तवमा मेक्सिकन मजदुरले अमेरिकालाई त्यहाँको कर्पोरेट मुनाफा र उपभोक्तालाई अनुदान दिइरहेका छन्
धेरै ढिलाइपछि ट्रम्प प्रशासनले मेक्सिको र क्यानडाबाट आउने अधिकांश सामानमा २५ प्रतिशत भन्सार महसुल लगाउने मिति ४ फेब्रुअरीलाई तोकेको थियो । अमेरिकी सञ्चार माध्यमले टकिला, एभोकाडो र बियरजस्ता वस्तुलाई लिएर चासो राखे पनि यसको प्रभाव यतिमै सीमित छैन । अमेरिकी परिवारले धेरै क्षेत्रमा मूल्यवृद्धिको सामना गर्नुपर्नेछ । गहिरो रूपमा एकीकृत व्यापार भएको क्षेत्रमा भन्सार महसुल बढाउनु विनाशको मार्ग रोज्नुजस्ते हो । अमेरिका–मेक्सिको सम्बन्धलाई नै लिऔँ, मेक्सिको अमेरिकाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो, जहाँ हरेक मिनेटमा १२ लाख डलरभन्दा बढीको सामान सीमापार हुन्छन् । तर, यसको आर्थिक महत्वलाई सधैँ नजरअन्दाज गरिन्छ, किनभने अमेरिकामा मेक्सिकोलाई प्रायः असफल र अपराधग्रस्त (लागुऔषध दुर्व्यसनीको राज्य) नार्को–राज्यका रूपमा चित्रण गरिन्छ । वास्तवमा यही छवि ट्रम्पलाई संकटकालीन अधिकार प्रयोग गरेर भन्सार महसुल बढाउन आवश्यक थियो ।
जब अमेरिकी राष्ट्रपति अमेरिकालाई मेक्सिकोको आवश्यकता छैन भन्छन्, तब उनी पूर्ण रूपमा गलत छन् । वास्तवमा यी महसुल लगाउँदा मुद्रास्फीति बढ्नेछ, किनभने अमेरिकाले उत्पादन नगर्ने सामानका लागि अमेरिकी उपभोक्ताले बढी तिर्नुपर्नेछ । यति मात्र नभई यसले ट्रम्पले जोगाउन चाहेका उद्योग नै कमजोर हुनेछन् । मेक्सिको सरकारले अपनाउने कुनै पनि प्रतिशोधात्मक कदमले अमेरिकी उपभोक्ता र व्यापारीका लागि अवस्था थप खराब हुनेछ ।
अमेरिकी सञ्चार माध्यमको सतही विश्लेषणमा पर्ने बियरजस्ता उत्पादनमाथि पनि यस अविवेकी निर्णयले ठुलो असर पार्ने देखाउँछ । मेक्सिको बियरको प्रमुख उत्पादक र निर्यातक हो । तर, यो उद्योग टिकाइराख्न उसले अमेरिकी जौ निर्यातको ७५ प्रतिशत खरिद गर्छ । यदि अमेरिकाबाट माग घट्दा मेक्सिकोको बियर उत्पादन प्रभावित हुन्छ भने यसको प्रत्यक्ष असर अमेरिकी जौ उत्पादकलाई पनि पर्नेछ । यस्तै स्थिति सीमापार आपूर्तिमा निर्भर हजारौँ अन्य उत्पादनका लागि पनि लागु हुन्छ । उदाहरणका लागि प्रतिक्रियामा कुनै ट्रम्प समर्थकले ‘यसलाई सहनुहोस् र अमेरिकामा बनेको सामान किन्नुहोस् । आपूर्ति शृंखलाहरू फेरि सामान्य हुनेछन्’ भन्न सक्छ । यस्तो जवाफ तब मात्र सजिलो हुनेछ, जब सबै कुरा अमेरिकामा स्थानान्तरण गर्न सम्भव हुन्छ ।
उत्तर अमेरिका (महादेश) को अटोमोबाइल उद्योगलाई नै हेरौँ । यो अमेरिका–मेक्सिको–क्यानडा क्षेत्रभरि फैलिएको छ र युएसएमसिए (उल्लिखित मुलुकबिच व्यापार सम्झौता) को सहयोगले चलिरहेको छ, जसले अमेरिका र मेक्सिकोबिच सवारीसाधनको आवागमनलाई सहज बनाउँछ, ताकि प्रत्येक देशले हरेक गाडी र ट्रकमा मूल्य थप्न सक्छन् । ट्रम्पको तर्कअनुसार भन्सार महसुलले अटोमोबाइल उद्योगीलाई सबै उत्पादन अमेरिकामा ल्याउन र सबै मूल्य आफूसँग राख्न बाध्य पार्नेछ । तर, यसो हुन सम्भव छैन ।
अटोमोबाइल उद्योगमा स्वचालनबाट पूरा गर्न गाह्रो हुने र उच्च–सीप आवश्यक पर्ने, तर न्यून वेतनका काम प्रायः मेक्सिकोमा गरिन्छ । अमेरिका वा क्यानडामा कुनै पनि शिल्पी श्रमिकले मेक्सिकन मजदुरले जति तलब स्विकार्दैनन् । तर, यी मजदुरले सवारी उत्पादनको प्रत्येक चरणमा महत्वपूर्ण काम पूरा गर्छन् । नतिजा सस्तो गाडी सिर्जना हुन्छ र यसले अमेरिकामा राम्रो तलब दिने रोजगारीमा योगदान पुर्याउँछ । यही प्रणालीकै कारण नै अमेरिका संसारको पाँचौँ ठुलो अटोमोबाइल निर्यातक बन्न सकेको हो र क्यानडा एवं मेक्सिको यसका प्रमुख ग्राहक हुन् । यो स्थिति केवल मेक्सिकन शिल्पी मजदुरको मद्दतले मात्र कायम राख्न सकिन्छ, किनभने यिनकै कारण गाडीको मूल्य घट्छ । अर्थात्, चीन र अन्य स्थापित अटोमोबाइल निर्माण गर्ने देशमाथि लगाइएका भारी भन्सार महसुलका बाबजुद अमेरिकामा बनाइएका गाडीको मूल्य कम राखिराख्न सजिलो हुनेछ ।
ट्रम्पको त्रासदीपूर्ण विशाल निर्वासनको समयमा ध्यान दिन योग्य कुरा के छ भने यदि उत्पादन स्थानान्तरण अमेरिकामा लागू गरिएमा कम्पनी अवैध श्रमिकलाई न्यूनतम तलबमा रोजगार दिन प्रेरित हुनेछन् र यस्तो कृषि एवं निर्माण उद्योगले पहिल्यैदेखि गरिरहेका छन् । तथापि, ट्रम्प एक विषयमा सही छन्, अर्थात् उत्तर अमेरिकी महादेशीय व्यापारमा एक पक्षले अरूलाई अनुदान दिइरहेका छन् । तर, यो अनुदान अमेरिकाले मेक्सिको वा क्यानडामा मात्र दिइरहेको होइन । वास्तवमा मेक्सिकन मजदुरले अमेरिकालाई त्यहाँको कर्पोरेट मुनाफा र उपभोक्तालाई अनुदान दिइरहेका छन् । तसर्थ, परिस्थितिलाई सुधार्ने मौका अझै छ ।
उता ट्रम्प र अमेरिकी आर्थिक राष्ट्रवादीले मेक्सिकनलाई आफ्नो औद्योगिक रोजगारी ‘चोरी’ गरेको आरोप लगाउँदै गर्दा मेक्सिको भने उत्तर अमेरिकी आपूर्ति शृंखलालाई थप बलियो बनाउन र मेक्सिकनलाई जति ज्याला दिने कम्पनीको व्यवहारको सामना गरिरहेका अमेरिकी मजदुरका वास्तविक चिन्तालाई सम्बोधन गर्ने काम गर्दै छ । मेक्सिकन सरकारले यस्तो रोजगारीमा न्यूनतम तलब दोब्बर गरेर र ट्रेड युनियनलाई सुदृढ बनाउनका लागि कदम उठाएको छ । यद्यपि श्रम लागत प्रतिस्पर्धी राखेको छ । यदि अमेरिकी मजदुर साँच्चै आफ्ना रोजगारलाई जोगाउन चाहन्छन् र ट्रम्पको द्वेषी भाष्यमा नफस्ने हो भने अमेरिकी र मेक्सिकन युनियनबिच अन्तर्राष्ट्रिय सहकार्य गर्नु उचित हुनेछ, जसले सीमापार दुवै पक्षका मजदुरको अधिकारलाई सुदृढ बनाउन मद्दत पुर्याउनेछ । सन् २०२६ मा युएसएमसिएको समीक्षा यस विषयमा छलफलका लागि उत्तम अवसर हुनेछ । तर, व्यापार सम्झौता त्यति लामो समय नटिकेमा मजदुर आफैँले पहल गर्नुपर्नेछ ।
(पत्रकार एवं लेखक ओर्मेरोड द मेक्सिको पोलिटिकल इकोनोमिस्टका संस्थापक हुन्)
अल जजिराबाट