गृह प्रशासनकै निर्देशनमा अत्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा चौधरीको जोडीमाथि प्रहरीबाट ज्यादती भएको भन्दै संसदमा सांसदहरूले गृहमन्त्रीको आलोचना गरेका छन्। जिबी राईजस्ता फरार अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीले एउटा निरीह जोडीलाई पक्राउ गर्न विदेश गएको भन्दै आक्रोशसमेत व्यक्त गरे।
बिहीबारको संसद् बैठकमा सांसद रणेन्द्र बरालीले भने, ‘जिबी राईजस्ता मान्छेलाई पक्राउ गर्न नसक्ने प्रशासन (गृह)ले निरीह दलितदम्पतीलाई पक्राउ गरेर बडो बहादुरी देखायो ।’ प्रेमविवाह गरेर घुम्न गएका जोडीलाई पक्राउ गर्न मुम्बईसम्म प्रहरी पठाएकोमा समेत उनले आलोचना गरे।
जिल्ला अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बालविवाह, मानव बेचबिखन र लागुऔषधजस्ता झुटा मुद्दा लगाएर ज्यादती गर्ने काम भएको उनको भनाइ छ । यस्ता घटनामा पीडितलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा उल्टो ज्यादती भएको भन्दै गृहमन्त्रीसँग सांसदहरूले जवाफसमेत मागेका छन्।