प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अन्तरजातीय विवाह गर्ने दलित युवकमाथि भएको अत्याचारबारे गृहमन्त्रीको जवाफ मागेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद शान्ति विकले सर्लाहीका सत्येन्द्र र नेहाको विषयमा आएको समाचारबारे आफ्नो ध्यानाकर्षण भएको बताइन्। यो क्रुरता ६० लाख दलित समुदायमाथि पर्न गएको चोट भन्दै उनले घटनाको छानबिन गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिन्।
यसैगरी, सांसद हर्कमाया विकले राज्यबाट भएको उक्त ज्यादतीको भर्त्सना गर्दै छानबिनको माग गरिन्। ‘यस घटनाले जातीय विभेद मात्रै होइन, यसमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्यायसमेत गरेको छ,’ उनले भनिन्।
यसैगरी, सांसद रणेन्द्र बरालीले गृहमन्त्रीकै निर्देशनमा भएको उक्त घटनाले समस्त दलित समुदायलाई स्तब्ध बनाएको उल्लेख गरे। विश्व अन्तरिक्षमा नयाँ बस्ती बसाल्ने होडबाजीमा पुगिसकेको भन्दै उनले भने, ‘हामी भने यही धर्तीमा यही धर्तीका मानवबाट अर्को मानवलाई हिंसा, हत्या र अपमानको सिकार हुनुपरेको कुरालाई लिएर संसदमा बहस गरिरहनुपरेको छ।’