मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार निरंकुश सोचमा अघि बढिरहेको छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १४:४२:oo

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्। प्रतिनिधिसभाको आज बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोस्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ। सम्झाइबुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदै छ, कडाकडा मुद्दा लगाइँदै छ। यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

पाथीभरा केबलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्कुम्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो हिँडेको बताए।

टिसर्टमा कसैको फोटो देखियो भनेर नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोच भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ? संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नागरिक दास हो ?’