![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sunil-paudel2024-04-24-09-07-44.gif)
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेकेदार कम्पनीसँगको मिलेमतोमा सामान आपूर्ति गरी घुस लिएको अभियोगमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
१२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद गर्दा उनले तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ। घुस दिने आपूर्तिकर्ता कम्पनी एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दीपक आनन्दलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशन रहँदा सो कम्पनीसँग सेक्युरिटी अप्लायन्सेस तथा नेटवर्क इक्विपमेन्टसम्बन्धी सामान खरिद गरेका थिए।
सामान खरिद गर्दा आपूर्तिकर्ता कम्पनीसँग मिलेर स्पेसिफिकेसन बनाएको र जसमा एक्टर्स कम्प्युटर्स नेपाल प्रालि मात्र छनोट भएको थियो। उसलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएकाले लागत अनुमानभन्दा एक प्रतिशत मात्र कममा बोलपत्र हालेर सो ठेक्का दिइएको थियो। स्पेसिफिकेसन बनाउनेदेखि भुक्तानी दिनेसम्मका काममा पौडेलको प्रत्यक्ष मिलेमतो देखिएको आयोगले जनाएको छ। घुस रकम अमेरिका र भारतको बैंक खातामा लिएको अभियोगपत्रमा उल्लेख छ। पौडेलसँग बरामद भएको मोबाइल तथा ल्यापटपमा गरिएको प्राविधिक परीक्षणमा यसरी उनीहरूले सुरुदेखि घरको सेटिङ र घुसको लेनदेनसम्बन्धी कुराकारीको विश्लेषण गरेर त्यसलाई प्रमाणित गरी आयोगले मुद्दा दायर गरेको हो। ह्वाट्सएप तथा इमेलमा उनीहरूबिच यसबारे श्रृंखलाबद्ध कुराकानी भएको थियो। त्यसलाई समेत आयोगले प्रमाण मानेर मुद्दा दायर गरेको हो।
हाल डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दा दायर भएका थिए। केही मुद्दामा उनी दोषीसमेत ठहर भइसकेका छन्।
घुस लेनदेनको फ्लो चार्ट
ठेक्काको सेटिङ र घुसबारे पौडेल र आपुर्तीकर्ताबिच भएको कुराकानी