![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Gharelu2025-02-06-08-03-52.jpeg)
घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जमा चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा ५४१ वटा साना उद्योग दर्ता भएका छन्। कार्यालयका अनुसार ६ महिनामा दर्ता भएका ५४१ वटा फर्ममध्ये २ सय ९२ जना पुरुष उद्यमी र २ सय ६८ जना महिला उद्यमी रहेका छन्।
नयाँ दर्ता भएका फर्ममा ९ सय ४० जना पुरुष र ८ सय ९४ जना महिलालाई रोजगारी दिएको दर्ता भएको फर्ममा उल्लेख छ।
कार्यालयमा दर्ता भएको मध्ये नयाँ प्राइभेट फर्म पाँच सयवटा छन् । यस्तै, साझेदारी फर्म ६ वटा, प्राइभेट लिमिटेडमा ३५ वटा दर्ता भएको कार्यालयका नायब सुब्बा सुरज रामले जानकारी दिए।
२० वटा फर्म नाम संशोधन, ३२ वटा फर्मले नामसारी, १६ वटा फर्म ठाउँसारी गराएको रामले बताए। उनका अनुसार ६ महिनामा ९ सय २७ जनाले फर्म नवीकरण गराएका छन्। ७५ वटा फर्मले लगत कट्टा गराएको उनले बताए। सुब्बा रामका अनुसार नयाँ दर्ता र नवीकरण फर्महरूबाट ४१ लाख ३० हजार राजस्व संकलन भएको छ।
आर्थिक वर्ष ०८०-८१ मा ८ सय ९७ वटा साना उद्योग दर्ता भएका थिए। दर्ता भएका उद्योगमध्ये ५ सय ५४ जना पुरुष उद्यमी र ३ सय ९९ जना महिला उद्यमी रहेको कार्यालयका सूचना अधिकारी संजय महतोले बताए।
जसमा २ हजार ३ सय ८५ जना पुरुष र एक हजार ५ सय ५६ जना महिलालाई रोजगारी पाएका छन्। यस्तै, दर्ता भएकामध्ये ८ सय ३५ वटा प्राइभेट फर्म, १४ वटा साझेदारी फर्म, ४८ वटा प्राइभेट लिमिटेड छन्।
गत आवमा २६ वटाले नाम संशोधन, ५६ वटाले नामसारी, ४१ वटाले ठाउँसारी गराएको रामले बताए। उनका अनुसार एक हजार एक सय ८६ जनाले नवीकरण गराएका छन् भने एक सय ८५ जनाले लगत कट्टा गराएको तथ्यांकमा उल्लेख छ।
दर्ता र नवीकरण गराएका फर्महरूबाट ८० लाख १२ हजार एक सय ५० रुपैयाँ राजस्व संकलन भएको उनले बताए।